अध्ययनमै रात छर्लङ्ग

डा. शेरबहादुर पुन 
क्लिनिकल रिर्सच युनिट, संयोजक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमितहरू नेपालमा फेला परेपछि मेरो दैनिक केही बदलिएको छ । संचारमाध्यमसँग संवाद गर्नु, अस्पतालमा आएका बिरामीलाई परामर्श दिनु मेरो नियमित कामसँगसँगै थपिएको जिम्मेवारी हो ।
बिहान गर्ने हल्का व्यायम पछि मेरो दिनचर्या सरू हुन्छ । व्यायम गर्नु मेरो सानै देखिको बानी हो । व्यायमले दिनभर ताजा राख्न मद्दत गर्छ । बिहान ९ बजे अस्पताल पुगिसक्नु पर्छ । त्यसैले बिहान साँझ भन्दा अलि व्यस्त हुन्छु ।
अस्पताल आएका  बिरामीमा विशेष गरी अहिले बढी मात्रामा परामर्शको खाँचो देखिएको छ । उहाँहरूलाई परामर्श दिने र आवश्यक पर्नेलाई भर्ना गर्नुपर्ने हुन्छ । साँझसम्म अस्पतालमा हुन्छु । अनुसन्धान मेरो क्षेत्र भएकाले नयाँ केस आउन सक्छन्, त्यसलाई सुक्ष्म ढंगले हेर्नुपर्ने भएकाले म अस्पतालमा अरू बेला भन्दा धेरै समय बताउँछु । घर फर्कदा साँझ परिसकेको हुन्छ ।

यतिखेर चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एकातिर पेशागत जिम्मेवारी छ, अर्को तर्फ हाम्रो सुरक्षा अर्को चुनौति छ । म काम गर्ने अस्पतालमा पुरै शरीर डिस इन्फेक्सन गर्ने खालको घर जस्तै बनाइएको छ । घर आउनु अघि अस्पतालको त्यो घरमा अनिवार्य पस्छु । जहाँ पसेपछि शरीर सफा हुन्छ । स्यानिटाइजर प्रयोग गर्ने,  साबुन पानीले हात धुनु त नियमित नै भै हाल्यो । 

गाडी चलाउने बेलामा फेरि स्यानिटाइजर प्रयोग गर्छु । किनभने गाडीमा कतै भाइरस छ कि भनेर स्यानिटाइजर प्रयोग गरेको हुँ । घरमा आइसकेपछि नुहाउने, अस्पताल जाँदा लगाएको लुगा घर बाहिर नै फेर्छु । त्यसपछि मात्रै, घरभित्र प्रवेश गर्छु ।
घर आएपछिको केही घण्टा दिउँसो बिरामीलाई दिएको परामर्श र उनीहरूको मनोभावनालाई विश्लेषण गर्ने काम हुन्छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि व्यक्ति व्यक्तिमा त्रास बढेको पाएको छु । त्यो त्रास कोरोनाको संक्रमण भन्दा पनि डरलाग्दो छ । डर लाग्नु स्वभाविक हो । तर आत्तिनु हुँदैन । आत्तिदा सकारात्मक बन्न सकिँदैन । आत्मबल कमजोर हुन्छ । अब के गर्ने सोच्न सकिँदैन । सावधानी अपनाएर सकारात्मक बन्नुपर्छ ।
साँझको समय अध्ययन, विश्लेषणमा बित्छ । घटनाक्रमको विश्लेषण गर्दा, तथ्यांक केलाउँदा अबको रणनीति तयार पार्न सजिलो हुन्छ । कार्ययोजना बनाउन सजिलो हुन्छ ।  प्रायजसो आठ बजेपछिको समय कोरानाकै बारेमा केन्द्रित रहेर अनुसन्धान र छलफलमा बित्छ ।
विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरू छलफल गर्ने, अनुसन्धानको बारे अपडेट हुर्ने, कोरोनासँग सम्बन्धित लेखहरूमा कमेन्ट गर्ने, सुधारका लागि सल्लाह लेखेर पठाउर्ने, नयाँ योजना र धारणा राख्र्ने काम गर्दा गर्दै धेरैजसो त भोलिपल्ट बिहान २÷३ बज्छ । रात बितेको पत्तै हुँदैन । रात छर्लङ्गै हुन्छ । कोरोनाभन्दा अघि पनि म सुत्दा ‘लेटनाइट’ नै हुन्थ्यो । त्यो क्रम अहिले बढेको छ ।
मलाई धेरैले प्रश्न गर्नु हुन्छ । तपाई अस्पताल जानु हुन्छ । अनि घरमा पनि ……।  आम मान्छेको मनमा यो प्रश्न उठ्नु स्वभाविक हो । र ठीक पनि हो । हो, म अस्पतालबाट घर आएपछि परिवारका सदस्यसँग दूरी कायम गरेर बस्छु । व्यक्ति व्यक्तिबीच दुरी कायमलाई परिवारमा प्राथमिकता दिएको छु । यो नियम मेरो लागि विशेष लागू हुन्छ । लगभग ६ फिटको दुरी कायम अनिवार्य गर्छु ।
कोरोना भाइरस (कोभिड–१९) को बारेमा पहिला हामीले जे सोचेको थियौं त्यो अवस्था रहेनछ भन्ने अहिलेको घटना क्रमले संकेत गरेको छ । यो हाम्रो लागि राम्रो संकेत हो भन्ने मैले ठानेको छु । आगामी दिनहरू कस्ता हुन्छन् त्यो हेर्न बाँकी नै छ । तर पनि मैले यो प्रारम्भिक तथ्यांक केलाएर हेर्दा पहिलाको भन्दा अहिलेको स्थिति धेरै सुधार देखेको छु ।

नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797