अभावमा देखिएको खुसी नै ऊर्जा

   डा.शान्ति भूर्तेल, नेपाल  प्रमुख, भरतपुर कोरोना अस्थायी अस्पताल, चितवन

‘मलाई त छोराछोरी भन्दा बिरामीको माया लाग्छ, घरभन्दा अस्पताल प्यारो लाग्छ’, बुबाले यसो भनेको सुन्दा के भनेको होला जस्तो लाग्थ्यो । कहिले काहीँ त रिस पनि उठ्थ्यो । पछि बुझ्दै गएपछि थाहा पाएँ, यो त बुबाको कामप्रति प्रेम र र कतव्र्य बोध पो रहेछ । त्यसैले, सिकाइ नै कामलाई महत्व दिनुपर्छ भन्ने भयो । मेरो बुबा, काका चिकित्सक भएकाले चिकित्सकको जिम्मेवारी बारे मलाई आफूले पढ्नु अघि नै धेरै कुरा थाहा थियो । परिवारको जिम्मेवारी र दायित्व एकातिर हुन्छ । अर्कोतर्फ पेशाप्रति त्यत्तिकै बफादार हुनुपर्छ । त्यसैले, निजी जीवनमा जस्तो अप्ठ्यारो आइपरे पनि मैले पेशागत जिम्मेवारी र भूमिकालाई कहिल्यै कम आँकिन् । मलाई पनि अस्पताल आफ्नो घर जस्तै लाग्छ । माघको दोस्रो सातादेखि भरतपुर अस्पतालमा काम सुरु गरेको हुँ । यसअघि अन्यत्रै काम गर्थे ।
त्यत्तिबेला उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसका संक्रमितहरू देखा परिसकेका थिए । विस्तारै संक्रमितहरू अन्य देशमा पनि देखिन थाले । नेपालमा पनि यसको जोखिम देखेर पूर्वतयारी स्वरूप अस्पतालमा तालिमहरू सञ्चालन ग¥यौं । त्यतिबेला नेपाल सरकारले गाइडलाइन तयार बनाइ सकेको थिएन । विश्व स्वास्थ्य संगठनको गाइडलाइनमा रहेर भरतपुर अस्पतालले तालिम दिएको थियो । तालिममा चिकित्सक, नर्स, सफाइकर्मीलगायतको सहभागिता थियो । मास्क कसरी लगाउने, पीपीईको प्रयोग, फोहोर व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा केन्द्रित थियो त्यो तालिम । त्यो तालिमको मुख्य उद्देश्य, कोरोना नेपाल भित्रिए त्यसको व्यवस्थापन गर्ने भन्ने थियो । तालिमका सहभागीहरूले त्यो तालिम निकै फलदायी भएको अहिले पनि भन्नु हुन्छ ।
मैले वैशाख १० गते देखि भरतपुर कोरोना (अस्थायी) अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालेको हुँ । यो जिम्मेवारी पाउनु अघि म बुटवल अस्पतालमा एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिरहेको थिए । भरतपुर कोरोना अस्थायी अस्पताल वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्ने निर्णय भएको थियो । यसअघि महानगरपालिकाले यसको व्यवस्थापन हेरिरहेको थियो ।  कसरी काम गर्ने ? के गर्ने ? मन एकदमै आत्तिएको थियो सुरूमा । तर, बिरामीको सहयोग र अस्पताल टिमको साथले सबै अप्ठ्याराहरू फुक्दै गएका छन् । अप्ठ्यारो आइपरे, समूहमा छलफल गर्छौ । अग्रजसँग सरसल्लाह गर्छौ र निर्णय लिन्छौं ।
हाम्रो अस्पतालका उपचाररत बिरामीले हामीलाई धेरै सहयोग गर्नु भएको छ । कहिले काहीं उहाँहरूको आवश्यकता र माग तत्कालै पुरा गर्न सक्दैनौ, त्यत्तिखेर उहाँहरू आवेगमा आउनु हुन्न । संयमित हुनुहुन्छ । अभावमा पनि उहाँहरूको अनुहारमा देखिएको खुसीले हामीलाई ऊर्जा दिन्छ । उहाँहरू अभावमा पनि खुसी हुनुहुन्छ । एउटा उदाहरण दिन्छु म, हावाहुरीका कारण अस्थायी अस्पतालमा केही दिन बिजुली र इन्टनेट उपलब्ध भएन । बनाउनका लागि सिपालु मान्छे खोज्यौं । ‘ए कोरोना अस्पताल, भो त्यहाँ त नजाउँ’ भन्नु भयो । यो अवस्थालाई उहाँले सजिलै बुझिदिनुभयो । अस्पताल भइरहेको ठाउँमा अस्पताल सञ्चालन गर्न धेरै सजिलो हुँदो रहेछ । नयाँ ठाउँमा अस्पतालको पूर्वाधार निर्माण गरेर काम गर्न अलि अप्ठ्यारो हुने रहेछ । यो हाम्रो अनुभव हो । यसले पूर्वाधार अत्यावश्यक हो भन्ने कुरा हामीलाई बुझाएको छ ।
सबै बिरामी आफ्नै परिवारका सदस्य जस्तै हुनु भएको छ ।  प्रत्येक दिन बिहान र बेलुका उहाँहरूसँग कुरा गर्छु । भिडियो कल गर्छु । मोनिटरमा बिरामीको अवस्था हेर्छु । उहाँहरू व्यायाम गरिरहनु भएको देख्छु । परिवारसँग कुराकानी गरिरहनु भएको हुन्छ । योग र मेडिटेसनका नयाँ तरिकाहरू गुगलमा भेट्दा लिंक पठाइदिन्छु । खुसी हुनुहुन्छ । खुसी भएको देख्दा रमाइलो लाग्छ ।
कोरोना अस्पतालको प्रमुखको जिम्मेवारी लगत्तै व्यस्तता कारण कारण धेरै दिन घर जान सकिन । बिरामीको सम्पर्कमा रहने चिकित्सक र नर्ससँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने  र  बिरामीसँगको भेटघाटका कारण दुई साता क्वारेन्टिनमा बसें । क्वारेन्टिन बस्दा लामो समय परिवारसँग भेटघाट भएन त्यत्तिबेला आफूलाई सम्हाल्न एकदमै गाह्रो भयो । मनोवैज्ञानिक समस्या उत्पन्न होला जस्तो अनुभव भएको थियो । त्यसैले अहिले घरबाट नै आउँजाउँ गरिराखेको छु । तर, सतर्क छु । सावधानी अपनाएको छु । घर पुग्ने बित्तिकै छोराछोरी र परिवारका अन्य सदस्यसँग भेट्दिन । बाथरुम जान्छु । फ्रेस भएर मात्रै परिवारसँग घुलमिल हुन्छु ।

परिवारको साथ 

मेरा दुईजना छोराछोरी छन् । माइतीमा उनीहरूलाई छाडेर अस्पतालको ड्युटीमा आउँछु । आमाबुबा, हजुरआमा र बहिनी ज्वाइँ हुनुहुन्छ । उहाँहरूको सहयोगले छोराछोरीको रेखदेख र स्याहारसुसार सजिलो भएको छ । छोराको अनलाइन कक्षाले अप्ठ्यारो परिरहेको छ । उसले अनलाइन कक्षामा मैले समय दिन नसक्दा नरमाइलो महसुश गर्छ । भन्छ, ‘मामु बाबा पनि हुनुहुन्न तपाई पनि अस्पतालमा मात्रै’ उसलाई सम्झाउँछु । अनलाइन कक्षामा उसका साथीहरूलाई आमाबाबुले गाइड गर्नु हुँदो रहेछ । उनीहरूको कक्षा हुने बेलामा मेरो ड्युटी पर्छ । उनीहरूको बाबा हुनुहुन्न । केही समय अघि उहाँको निधन भएको हो । छोरी सानै छ । उसलाई सबै कुरा थाहा छैन । सकेसम्म उनीहरूलाई बाबुको अभाव महसुश हुन दिएकी छैन ।
कोरोनाको बारेमा विदेशमा भएको मानवीय क्षति हेरेर त्रसित नहुनहोस् । सतर्क हुनुहोस् । सजग रहनुहोस् । कोरोनाविरुद्ध लड्न अनुशासित जीवन जिउनु पर्छ । कोरोनालाई जित्ने मुलुकको अनुभव सुन्दा जनचेतना, शिक्षा र अनुशासन नै अगाडि आउँछन् । त्यसैले घरभित्र बस्दा, हिँड्दा, डुल्दा अनुशासनमा बस्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797