आत्तिएकी म अहिले सम्हालिँदै

वन्दना रिसाल  नर्स प्राक्टिस्नर, अस्टिन रिजनल क्लिनिक टेक्सास, अमेरिका 

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिने बित्तिकै त म धेरै आत्तिएकी थिएँ । कसरी काम गर्ने ? कहिलेसम्म यसरी काम गर्न सकिन्छ ? जस्तो प्रश्न मनमा आइरहन्थ्यो । काम नै छोडौं, छोडौं मात्रै लागिरहन्थ्यो । कि काम छाड्छु, कि त बिदामा बस्छु भन्नेमा पुगेकी थिएँ । मनोवैज्ञानिक रूपमा कमजोर भएकी थिएँ । मनमा चिन्ता थियो । डर लाग्थ्यो । मन डराउनुको कारण, मैले गर्दा मेरो परिवार समेत असुरक्षित होला कि भन्ने प्रमुख थियो ।
पीपीई सेट लगाएर दिनभर ड्युटीमा खट्नु पर्दा निकै अप्ठ्यारो भएको थियो सुरू सुरूमा । पीपीई लगाउन र खोल्न निकै समय लाग्छ । तरिका मिलाएर लगाउनु पर्छ । सावधानीपूर्वक लगाउनु पर्छ । लगाएको तरिका नमिल्ने असुरक्षित भइन्छ । पटक पटक हात धोएकाले छाला एकदमै फुस्रो भएको थियो । हातको छाला नै निस्किएको थियो । पीपीई सेट लगाउनु, हातको छाला फुस्रो हुनु, घरभित्र नपसि बगैंचा पुग्नु यी सामान्य भएका छन् अहिले ।
अमेरिकामा अवस्था विस्तारै सामान्य बन्दै गएको छ । अब कोरोनासँग सतर्क हुँदै जीवन र दिनचर्या सँगसँगै अघि बढाउनु पर्ने अवस्था छ । यो वातावरण र अवस्थाले आफूलाई सामान्य महसुश गर्नु थालेको हुँ । यहाँको सपिङ सेन्टरहरू पनि नियमपूर्वक विस्तारै खुल्दैछन् । बिरामीहरूमा पनि कोरोनाप्रतिको बुझाइको तह विस्तारै बढ्दै  गएको छ ।
कोरोना संक्रमण कहिले सकिन्छ, यो सजिलै भन्न सकिन्न । योबाट एउटा ठाउँ र देशमा मात्रै होइन, विश्व नै समस्या ग्रस्त भएको छ । यो सम्झँदा कोरोनासँग जोगिँदै आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्ने ऊर्जा मिल्छ ।
म अमेरिका आएको १७ वर्ष जति भयो । अहिले टेक्सासको ‘अस्टिन रिजनल क्लिनिक’ मा नर्स प्राक्टिस्नरको रूपमा कार्यरत छु । बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म क्लिनिकमा नै हुन्छु । मेरो पाँच वर्ष पुग्नै लागेको छोरो छ । घरबाट निस्कदाँ ऊ उठेको हुँदैन । बेलुका क्लिनिकबाट फर्किएपछि सबैभन्दा पहिला घर पछाडिको बगैंचामा जान्छु । बगैंचामा ‘सेड’ जस्तो ठाउँ छ । क्लिनिक जाँदा लगाएका लुगा, ब्याग अन्य सामग्री त्यहीं राख्छु । हातमुख धुन्छु । त्यसपछि मात्रै घरभित्र पस्ने हो । घरभित्र पसेपछि सबैभन्दा पहिलो काम नुहाउने हुन्छ । त्यसपछि मात्रै बाबु (छोरा) लाई भेट्छु । धेरैजसो त नुहाउनुभन्दा अघि उसको अघिल्तिर नै पर्दिन । कहिले कहीं हुत्तिएर आउँछ । ‘मामुसँग भाइरस छ, भाइरस छ भन्छ ।’
म काम गर्ने क्लिनिकमा कोरोना सुरू हुनुभन्दा पहिला उच्च रक्तचाप, कोलेस्ट्रोलका बिरामीहरूको चाप हुन्थ्यो । अहिले सामान्य रुघाखोकी लागेकाहरू, एलर्जीले रुघाखोकी लागेकाहरूका पनि ‘इज इट कोरोना ?’ भन्दै सम्पर्कमा आउनुहुन्छ । क्लिनिकमा कार्यरत चिकित्सक र नर्सहरूको सुरक्षाका लागि बिरामीलाई टेला भिजिट गर्ने गरेका छौं । टेलिफोन, भिडियोबाट उहाँहरूको समस्या बुझ्छौं । रोगको बारेमा थप बुझ्नुपर्नेलाई मात्रै क्लिनिकमा बोलाउँछौ । जो अस्पतालमा आउनु हुन्छ । उहाँहरूको समस्या अनुसार फरक फरक ट्रयाकमा पठाउँछौ । रुघाखोकी लागेका, डायरिया भएका,
खानेकुराको स्वाद थाहा पाउन छाडेकाहरूलाई ट्रयाक एमा पठाउँछौं । अन्यको उपचार ट्रयाक बीमा हुन्छ । ट्रयाक भनेको कोठा जस्तै हो । बिरामीको समस्या अनुसार फरक फरक कोठामा पठाएका हौं । ट्रयाक एमा पठाएका बिरामीहरूको कोरोना परीक्षण गरिन्छ । त्यो परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि दोहो¥याए परीक्षण गर्न आउनु हुन्छ । एलर्जी वा अन्य कारणले रुघाखोकी लागेका बिरामीमा पनि कोरोना हो कि भन्ने त्रास छ । मानसिक रूपमा बिरामीहरू पनि कोरोना हो कि भन्ने शंकाले कमजोर हुनु भएको छ ।
कोरोना भाइरसको परीक्षण अमेरिकाम दुई तरिकाले गरिन्छ । पहिलो ¥यापिड र दोस्रो रेगुलर परीक्षण । ¥यापिडको रिपोर्ट दुई घण्टामै आउँछ । रेगुलरबाट गरिने परीक्षणबाट आउने रिपोर्टका लागि दुई, तीन कुर्नुपर्छ । हाम्रो क्लिनिकमा गर्नुपर्ने शल्यक्रियाको क्यू धेरै भइसक्यो । अब त्यो काम सुरु गर्छौै । शल्यक्रिया अघि कोरोनाको लक्षण देखिएको भए पनि नभए पनि बिरामीको अनिवार्य रूपमा परीक्षण गर्नुपर्छ । यो परीक्षणले आउनसक्ने जोखिमबाट बचाउन सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797