‘उनको आत्मविश्वासले जित्यो कोरोना’

सम्मानको श्रृंखला 
डा.बच्चु कैलाश कैनी
बरिष्ठ अस्पताल व्यवस्थापक, क्वीन एलिजावेथ अस्पताल, बेलायत

मेरी श्रीमती बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को अस्पतालमा काम गर्छिन् । काममा गएकै बेला उनलाई ज्वरो आयो । त्यसको भोलिपल्टसम्म पनि ज्वरो कम भएन । झन् बढ्यो । त्यसपछि उनी काममा जान छाडिन् । तेस्रो दिन खोकी लाग्यो । श्वासप्रश्वासमा पनि समस्या भएको अनुभव गरिन् उनले । एकपछि अर्को गर्दै कोरोना भाइरस (कोभिड–१९) का लक्षणहरू देखा पर्न थाले ।
अस्पतालमा काम गर्ने भएकाले उनी कोरोना भाइरसको संक्रमणका बारेमा चनाखो थिइन् । उनको र मेरा बीचमा भाइरसबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे घरमा बरोबर छलफल भइरहन्थ्यो । तथापि, आठौं दिनमा कोभिड परीक्षण गर्दा पोजेटिभ देखियो ।
बेलायतका एउटा समस्या के छ भने, कुनै व्यक्तिले चाहने बित्तिकै कोरोना भाइरसको परीक्षण गर्न सक्दैन । त्यो सुविधा छैन । यस्तो हुनुको मुख्य कारण, लाखौं मानिस संक्रमित हुनु हो । चाहने जति सबैको परीक्षण गर्न संभव छैन ।
उनले काम गर्ने अस्पतालमा नै स्वाब परीक्षण गरायौं । एक्सरे गर्न गइन् । उपचारका लागि उनी अस्पताल दुई पटक जति पुगिन् । बाँकी अवधि घरमै आइसोलेसनमा बसेर कोरोना संक्रमणविरुद्ध डटिन् उनी ।
घरबाहिर निस्कने अवस्था थिएन । छोराछोरीसहित चार जनाको हाम्रो परिवार एउटै घरमा बस्छौं । छोरी घरबाटै काम गर्थिन् । छोराले पनि घरबाट नै पढिरहेको थियो । तर, आइसोलेसनमा बस्दा अपनाउनु पर्ने नियमहरू अक्षरश पालना गरेका थियौं । जुन अहिले पनि कायम नै छ ।
बिरामीको लागि छुट्टै बाथरुम, हावा आवजजावत गर्ने कोठा, छुट्टै भाँडाको प्रयोग, व्यक्ति–व्यक्तिबीचको दुरी, मास्कको प्रयोग, पटक पटक साबुन पानीले तरिका साथ हात धुने नियमलाई हामीले महत्व दिएर कार्यान्वयन ग¥यौं । मेरी श्रीमती आफैं यो विषयमा सचेत थिइन ।
अस्पताल कार्य क्षेत्र भएकाले आम मान्छेको भन्दा फरक बुझाई थियो मेरो पनि आइसोलेसनका नियम पालना गर्ने सन्दर्भमा । आइसोलनमा बस्दा अपनाउनुपर्ने नियमहरूलाई नबिराई पालना गरेँ । छोराछोरीले पनि यसलाई गम्भीरतापूर्वक लिए ।
जसले गर्दा मेरी श्रीमती कोरोनालाई जित्न सक्ने बहादुर बनिन् । उनको आत्मविश्वास, साहस र सकारात्मक सोच कोरोनासँग लड्ने अर्को अस्त्र थियो । बिरामीको सकारात्मक सोच र साहसले परिवारलाई समेत मनोबल उच्च राख्न सहयोग गर्ने रहेछ । उनीभित्रको ऊर्जालाई हामीले सधैं ताजा राख्न प्रेरित ग¥यौं । सकारात्मक कुरा ग¥यौं । यी सबैले उनीलाई उर्जा दियो । सलाम छ उनको साहस र आत्मविश्वासलाई ।
अर्को कुरा, उनको स्वास्थ्य अवस्थाको मनिटरिङ्ग दैनिकी नै बन्यो । ज्वरो, खोकी र श्वासप्रश्वासको अवस्थालाई सुक्ष्मसँग अवलोकन गर्नु र डाक्टरलाई रिपोर्टिङ गर्ने काममा उनी आफैं पनि सचेत थिइन् । त्यसलाई मैले गम्भीरतापूर्वक कार्यान्वयन गरेँ ।
संसारलाई त्रसित बनाएको कोरोना भाइरस हाम्रो परिवारमा सुटुक्क भित्रिएको थियो । हाम्रो सावधानी र सर्तकतालाई त्यसले झुक्याएको थियो । तर, स्वास्थ्यसँग सम्बन्धित नियमको पालना, धैर्यता र सकारात्मक सोचले त्यो भाइरसलाई परास्त गर्न सफल भएका छौं । उनको स्वास्थ्यमा अहिले क्रमशः सुधार हुँदै गएको छ । उनी छिट्टै पूर्णरूपमा निको हुनेछिन् ।
एनएचएसको १११ सेवा, स्थानीय चिकित्सक (जीपी) को परामर्श सेवा, डार्टफोर्डको स्थानीय अस्पताल (डारेन्ट भ्याली अस्पताल) ले प्रदान गरेको सेवा गुणस्तरीय महसुश गरेँ । उहाँहरू सबैजना धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरूको सेवा भावलाई सम्मान गर्न चाहन्छु ।

बेलायतमा बिरामी वर्गीकरण 

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । पहिलो हो, ‘माइल्ड केस’ । माइल्ड केसमा ज्वरो आएका, रूघाखोकी लागेका, शरीर कमजोर भएका, खाना नरूचेका, पखाला लागेका, खानाको स्वाद थाहा पाउन छाडेका बिरामी पर्छन् । बेलायतको स्वास्थ्य निर्देशिकाले यस्ता बिरामीलाई चिकित्सकको परामर्श लिएर घरमै आइसोलेसनमा बस्न अनुरोध गरेको छ । उनीहरूले डाक्टरसँग परामर्श गर्न  सरकारले उपलब्ध गराएको नम्बर १११ मा फोन गर्न सक्छन् । बिरामीले स्वास्थ्यसँग सम्पूर्ण कुरा डाक्टरलाई बताउन सक्छन् ।
दोस्रो अवस्थालाई ‘सिभियर केस’ भनिन्छ । यस्ता बिरामीलाई अक्सिजन दिनुपर्छ । उनीहरूको श्वासप्रश्वासमा समस्या भएको हुन्छ । बिरामीलाई अस्पतालमा राखेर अक्सिजन दिइन्छ । उनीहरूको उपचार आइसोलेसन वार्डमा राखेर गरिन्छ । जुन बिरामीको उपचार भेन्टिलेटरमा राखेर गर्नुपर्छ, त्यो क्रिटिकल केस हो ।
बेलायतको कुरा गर्ने हो भने, ‘माइल्ड केस’ का बिरामीहरू घरमै आइसोलेसन बसेका छन् । त्यसरी आइसोलेसनमा बस्नेहरू असीदेखि पचासी प्रतिशत छन् । उनीहरू ज्वरो घटाउन सिटामोल खान्छन् । पोसिला खानेकुरा उनीहरूको प्राथमिकतामा पर्छ । श्वासप्रश्वासमा समस्या देखिए मात्रै डाक्टरसँग परामर्श लिएर अस्पताल पुग्छन् ।

अस्पतालको व्यवस्थापन 

विश्वलाई नै लकडाउन गरेको कोरोना भाइरस (कोभिड–१९) ले बेलायतमा महामारीको रूप लिएको छ । एक लाखभन्दा धेरै संक्रमित छन् । १७ हजार जतिको मृत्यु भैसकको छ । यो पुष्टि भएको तथ्यांक हो ।
थुपै्र बेलायती नागरिक र बेलायतमा बसोबास गरिरहनु भएका नेपालीहरू यो भाइरसबाट संक्रमित हुनुहुन्छ । अस्पताल बाहिरका, अस्पतालका साथीहरू धेरैजना संक्रमित भएर होम क्वारेन्टिमा बस्नु भएको छ ।
नेपालीहरूको अवस्थाको कुरा गर्ने हो भने, धेरै नेपाली संक्रमित हुनुहुन्छ । नेपाली समुदायमा संक्रमणको ठूलो असर परेको छ ।  बेलायतका अस्पतालहरूमा रेड जोन र ग्रीन जोन छुट्टयाइएको छ । रेड जोनमा कोरोनाका बिरामीको उपचार गरिन्छ । प्रत्येक अस्पतालमा आइसीयू बेड थपिएएको छ । डेडिकेटेड बेडहरू थपिएको छ ।  म काम गर्ने अस्पतालको दुईवटा भवनमा गरेर एक हजार बेड छन् । यो अस्पतालमा ३८ वटा आइसीयू बेडहरू थियो अहिले थपेर एक सय आठ पु¥याइएको छ । रेड जोनको पनि क्षमता विस्तार गरिएको छ । रेड जोन भनेको कोभिडकै लागि हो ।
कर्मभूमिमा बसेर कोरोनाको कहरलाई नियालिरहेको म जन्मभूमिका सम्पूर्णलाई सर्तक हुन आग्रह गर्छु । त्रासले मान्छेको आत्मबल घटाउँछ । रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउँछ । त्यसैले भन्छु, विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका नियमहरू अक्षरश पालना गर्न अनुरोध गर्छु ।

(डा.कैनी लण्डनस्थित आर्डेन विश्वविद्यालय (स्वास्थ्य व्यवस्थापन)का सहप्राध्यापक पनि हुन् ।)  



नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797