एउटै परिवारका १८ जना अस्पतालमा

श्रुति शाह  नर्सिङ अधिकृत, नारायणी अञ्चल अस्पताल

चैत २६ गतेको दिन । म अस्पतालको ड्युटीमै थिएँ । तीनजना कोरोना संक्रमित बिरामी आउँदै हुनुहुन्छ भन्ने खबर आयो । सुरूमा त अन्यौल नै भयो । बिरामीलाई कसरी सम्हाल्ने ? के गर्ने ? आफ्नो सुरक्षा कसरी होला ? यस्तै यस्तै प्रश्न मनभरि मडारिए । अवस्था जस्तो भए पनि काम गर्नु नै थियो । त्यसैले, मनलाई सम्हालेँ ।
तीन–चार हुँदै अहिले अस्पतालमा ७१ जना कोरोना संक्रमित बिरामी हुनुहुन्छ । कोरोना संक्रमित बिरामीहरूको एउटा ठूलो परिवार जस्तै भएको छ । बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैजना हुनुहुन्छ । उपचारमा रहेकामध्ये केहीमा मधुमेहको रोग छ । कोही मुटुरोगका बिरामी हुनुहुन्छ । मधुमेहका बिरामीले रोटी खाने गरेको बताउनु भयो । रोटीको व्यवस्था गरी दियौं । अस्पतालको आफ्नै क्यान्टिन छ । त्यो क्यान्टिनमा खानेकुरा मिठो खाना पकाउने दिदीहरू हुनुहुन्छ । दिदीहरूले खाना पकाउनु हुन्छ । सुरु सुरुमा खानेकुरा नून तेल कम राखेर बनेको  थियो । उहाँहरू त्यस्तो नून तेल नै कम खानुपर्ने बिरामी होइन, भनेपछि अन्य बेलामा खाने जस्तै खानेकुरा पाक्यो । मिठो मानेर खानु हुन्छ ।
हामीले पौष्टिक खानेकुरालाई एकदमै जोड दिएका छौं । रोग प्रतिरोधात्मक क्षमता आवश्यक हुने भएकाले खानेकुरालाई जोड दिनुपर्ने उहाँहरूलाई बताएका छौं । बिहान अण्डा र दूध, १० बजेतिर खाना, खाजा र बेलुकाको खाना गरी चार पटक खानाको व्यवस्था गरेका छौं । एकै खालको खाजाभन्दा दिनै पिच्छे फरक–फरक मेन्यूको व्यवस्था गरेका छौं । भुजा चना, चिउरा तरकारी, हलुवा तरकारी खाजामा खुवाउँछौं । एउटा ठूलो परिवारको व्यवस्थापन गरिरहेका छौं । यो व्यवस्थापन हाम्रो लागि चुनौतिको सामना र सिकाइ दुबै हो । अरु बेलामा उपचारका लागि आउने बिरामीलाई औषधि दिए मात्रै पुग्थ्यो । अन्य रेखदेख अस्पतालले गर्नुपर्दैन थियो । तर, अहिलेको अवस्था त्यस्तो छैन । कोभिडका बिरामीको उपचार, खाना, सरसफाइ सबै अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ । यो अस्पतालका लागि थपिएको जिम्मेवारी हो । 

१७ जनाको खबर 

एक दिन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले फोन गर्नुभयो । १७ जना कोभिड संक्रमित बिरामी आउँदै छन् उनीहरूका लागि तयारी गर्न भन्नुभयो । उहाँलाई मैले ‘वीआर रेडी’ सर भन्नें । १७ जना आउनु अघि नै हामीले उहाँको निर्देशनमा अन्य वार्डहरूलाई पनि आइसोलेसन वार्डको रूपमा व्यवस्थित गरी सकेका थियौं । त्यहाँ पिउने पानी, नुहाउने पानीको व्यवस्था ग¥यौं । संक्रमितलाई राख्न मिल्ने गरी सम्पूर्ण व्यवस्था मिलायौं । यी सम्पूर्ण व्यवस्था एक्लो प्रयासले मात्रै भएको होइन, हामीसँग चुस्त समूह भएकाले नै संभव भएको हो । सिनियर दिदीहरू, जुनियर बहिनीहरूको टिम वर्कले ठूलो जस्तो लागे पनि काम छिट्टै संभव भइरहेछ । कोभिडका बिरामी बढे पनि पहिले कै जनशक्तिले धान्नु परेको अवस्था छ । तर पनि सक्दो व्यवस्थापन गरेका छौं । जिर्ण र सानो  पूर्वाधार हाम्रो अहिलेको अर्को मुख्य चुनौति हो ।
नेपाल सरकारले नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपछि हामीले यहाँका बिरामीलाई अर्को अस्पतालमा पठायौं । एउटै अस्पतालमा कोभिड र अन्य बिरामीलाई राखेर उपचार गर्नु ठिक हुँदैन थियो, सरकारको निर्णय अनुसार नै यस्तो गरेका हौं ।

परिवार नै अस्पतालमा 

कोरोना संक्रमितका बिरामी थपिनु भनेको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको जिम्मेवारी थपिनु हो । काम बढ्नु हो । काम थपिनु हो । कोरोना संक्रमित बिरामीको उचित व्यवस्थापन गर्न ध्यान केन्द्रित गरेका छौं । उहाँहरूको खानपान, उपचार, उहाँहरूले मनोरञ्जनको व्यवस्था मिलाएका छौं । अस्पतालमा बस्दा पाउने सुविधा, गर्नुपर्ने सावधानी, खानाको मेन्यू सबै उपलब्ध गराएका छौं । सीसी क्यामेराबाट उहाँहरूलाई नियालिरहेका हुन्छौं । बरोबर फोन गरिरहन्छौं । उहाँहरूले पनि फोन गरिरहनु हुन्छ ।
अस्पतालमा एकै परिवारका १८ जनाको  उपचार गरिरहेका छौं । बालबालिकादेखि वृद्धवृद्धासम्म हुनुहुन्छ । बालबालिकालागि खेल्ने सामग्री उपलब्ध गराएका छौं । बच्चाका लागि ल्याक्टोजिन माग गर्नुभयो । त्यो ल्याइदियौंँ । डाइपर पनि चाहियो भन्नुभयो, त्यो पनि दियौं । एकै परिवारका उहाँहरूलाई दुईवटा कोठामा बस्ने व्यवस्था मिलाएका छौं । एउटामा पुरुष सदस्य, अर्कोमा महिला सदस्य बस्नुहुन्छ ।

मेरो दैनिकी 

अस्पतालमा सबै व्यवस्था मिलाएर घर जान्छु । मेरो सानो बच्चा छ । त्यसैले पनि घर जानै पर्छ । घर पुगेपछि आफ्ना सबै सामान घर बाहिरै राख्छु । त्यसपछि मात्रै घर पस्ने हो । म घर पुग्ने बित्तिकै नुहाउँछु । स्यानिटाइज भएर मात्रै परिवारसँग भेट्छु । एकाबिहानै घरबाट निस्किएकी मलाई राति अबेर देख्दा बच्चा झुम्मिन खोज्छ । घर पुग्ने बित्तिकै ऊ र परिवारका सदस्य एकातिर हुनुहुन्छ । म अर्कोतिर हुन्छ । मलाई देखेर झम्यामिन खोजेको बच्चालाई समाउन खोज्दा त्यस्तो भएको हो । मेरो श्रीमान् पेशाले चिकित्सक हुनुहुन्छ । त्यसैले कुरा बुझाउन गाह्रो छैन । परिवारका सबैजना सदस्य पनि सहयोगी हुनुहुन्छ । त्यसैले सम्पूर्ण समय अस्पताल र बिरामीको लागि दिन पाएको छु । परिवारको सहयोग पाउँदा अघि बढ्न र काम गर्न सजिलो हुन्छ । साथ  सहयोग र आत्मबल बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु ।

सामान्य ड्युटी गर्ने दिनको प्रतिक्षा 

हामी सम्पूर्ण स्वास्थ्यकर्मी अहिले सामान्य ड्युटीको त्यो दिनको प्रतिक्षामा छौं । जतिसक्दो छिटो त्यो दिन फर्कियोस् भन्दै कामना गरिरहेका छौं । पक्कै आउँछ त्यो दिन । हामी निराश हुनु हँुदैन । प्रतिक्षाको पल पक्कै पनि पट्यार लाग्दो हुन्छ । सकारात्मक बनौं । त्यो दिनको प्रतिक्षा गरौं, आउँछ त्यो । कोभिड अस्पताल घोषणा हुनु अघि म अस्पतालको लेबर रूममा काम गर्थे । स्वस्थ बच्चा र स्वस्थ आमाका लागि ध्यान केन्द्रित हुन्थ्यो । पूरानै ठाउँमा फर्किएर बच्चालाई कसरी स्वास्थ्य बनाउने, सुरक्षित सुत्केरीका बारेमा काम गर्न पाइयोस् । यहि कामना छ । मेरो प्रतिक्षा यही छ ।
(श्रुति, नारायणी अञ्चल अस्पतालको निमित्त मेट्रोन पनि हुन्)

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797