कोरानाले चकमन्न व्यस्त अमेरिका

विश्व बाँस्तोला  सभापति, लङआईल्याण्ड च्याप्टर न्युयोर्क  नेपाली जनसम्पर्क समिति अमेरिका 

म अमेरिका आएको दश वर्ष भएछ । अमेरिका आउनु अघि म नेपाल शिक्षक संघको केन्द्रीय सदस्य थिँए । पोखराका माध्यमिक, उच्च माध्यमिक विद्यालयमा काम गरेँ । मेरो घर पोखराको हेम्जा हो । जीवन जिउने क्रममा मान्छेले अवसर खोज्नु स्वभाविक हो । त्यही अवसरको खोजीले मलाई अमेरिका ल्याई पु¥याएको हो । अमेरिका आएपछिको दश वर्षको बीचमा मैले शायद नै सोचेँ हुँला, एक दिन हामी व्यस्ततालाई पन्छाउँदै, आफ्ना इच्छा, चाहना र रहरलाई मनभित्रै बाँधेर घरभित्रको ‘बन्दी’ जस्तै जीवन बताउँछु भनेर । त्यो पनि एक दिन होइन, दुई दिन होइन, झण्डै तीन महिना जस्तो । हो, आजभन्दा झण्डै साँढे दुई महिना अघिका दिनहरू सम्झन्छु । अहिले लाग्छ, त्यस्ता दिनहरू पनि हामीले भोग्यौ है ।
त्यतिबेला बजार बन्द थियो ।  कार्यालय, विद्यालय, कलेजहरू सबै बन्द थिएँ । मान्छेहरू डेढ दुई महिनालाई पुग्ने खाद्यन्न जम्मा पारेर घरभित्र बन्द थिए । व्यस्तताको पर्याय अमेरिका वास्तवमा चकमन्न थियो । कोरोना संक्रमणको त्रास प्रत्येकको अनुहार देखिन्थ्यो । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि अमेरिकामा लकडाउन सुरु भयो । त्यतिबेलाको अवस्था दर्दनाक थियो । तर, अहिले अवस्था सामान्य बन्दै गएको छ । जुन महिनाको दोस्रो साताबाट कार्यालयहरू खुल्न सुरु भएका छन् । कार्यालय, सपिङ स्टोरहरू निश्चित नियमहरू पालना गरेर खोलिएका छन् । मनको अन्तरकुन्तरमा रहेको त्रासलाई संयमता र सतर्कताले जित्नै यहाँ मान्छेहरू अघि बढिरहेका छन् ।
अमेरिकामा ग्रीन कार्ड भएका, आप्रवासी, स्थायी बसोबास गर्ने र विद्यार्थी समेत गरेर करिब तीन लाख नेपाली बसोबास गर्छन् भन्ने अनुमान छ । यो आधिकारिक तथ्यांक भने होइन । तीमध्ये एक लाख जति त न्यूयोर्कमा नै बस्ने अनुमानित तथ्यांक छ । न्यूयोर्क बाहेक क्यालिफोर्नियालगायतका ठाउँमा नेपालीको बसोबास छ । न्यूयोर्क कोरोनाको इपीसेन्टर जस्तै बनेको थियो । न्यूयोर्कमा रहेका धेरै नेपाली संक्रमित थिए । यो ठाउँ अमेरिकाको महंगो ठाउँ हो । एउटै अपार्टमेन्टमा धेरै नेपाली बसोबास गरेको अवस्था छ । त्यहाँ बस्ने कोही काममा जाने, कोही नजाने गर्दा संक्रमण फैलिएको थियो । अझैं फैलन सक्ने खतरालाई मध्यनजर गरेर उहाँहरू सबैजना काम छाडेर घरमै बस्नुभयो, त्यसपछि संक्रमण फैलिन रोकिएको थियो ।
कोरोनाका कारण अमेरिकी सरकारले गरेको लकडाउनले अमेरिका पढ्न आएका विद्यार्थीको जीवनयापन कष्टकर बनेको थियो । अप्ठ्यारोमा परेका विद्यार्थीलाई हामीले सहयोग ग¥यौं । अन्य संघ संस्थाले सहयोग गरेका छन् । स्टेटहरूले पनि विद्यार्थीलाई सहयोग गरेका छन् ।
कोरोना भाइरसका कारण अमेरिका मात्रै होइन, विश्व नै आक्रान्त बनेको छ । कुरा रह्यो, त्यसको प्रभाव कहिलेसम्म र कस्तो रहन्छ भन्ने । यो गम्भीर संकटबाट जोगाउन मुलुकले कसरी काम गर्छ भन्ने अर्को महत्वपूर्ण कुरा हो ।
अमेरिका समुन्नत देश हो । यो देश आफ्ना नागरिकप्रति कति जिम्मेवार र जवाफदेही छ भन्ने कुरा यहाँ गरिएका निर्णयहरूले पुष्टि गर्छन् । जसको स्थायी प्रकृतिको काम छ, स्थायी रूपमा बसोबास गरिहनु भएको छ, उहाँहरूलाई काम नगरे पनि राज्यले तीन महिनाको तलब दिएको छ । तीन महिनाको घरभाडा छुटको व्यवस्था मिलाएको छ । मोरगेज (घर किन्दा लिएको ऋण वापत सरकारलाई दिनुपर्ने किस्ता) पनि तीन महिनाको लागि पर सारेको छ । अप्ठ्यारो परेको बेलामा आफ्नो देशमा बसोबास गर्नेलाई गरेको साथ र सहयोगले नागरिकप्रतिको राज्यको दायित्व प्रष्ट भएको छ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रवासमा रहेका नेपालीलाई गोलबद्ध बनाउनका लागि आफू प्रवासमा रहेका बेला जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको हो । समस्या परेको बेलामा एक अर्कालाई सहयोग गर्न यो अवधारणा ल्याइएको हो । यो अवधारणा अनुसार अमेरिकाको ३५ वटा स्टेटमा जनसम्पर्क समितिहरू गठन भएका छन् । म संयोजक भएको जनसम्पर्क समिति मार्फत कोरोनाका बेला सबैभन्दा धेरै सहयोग नेपाली विद्यार्थीलाई गरेका छौं । अमेरिकाको केही राज्यहरूमा औषधि, थर्मल गनलगायतका सामग्रीको अभाव थियो । ती राज्यहरूमा समिति मार्फत सामान पु¥याएका थियौं । चिकित्सकहरूसँग उपचारका लागि समन्वय गर्ने, राज्यबाट पाउनु पर्ने सुविधा दिलाइ दिनेलगायतका विषयमा नेपाली समुदायमा सहजिकरण गरेका थियौं । जनसम्पर्क समितिले कोभिडमा मात्रै होइन, सन् २०१५ सालको भूकम्पमा पनि सहयोग गरेको थियो । साथै, प्रवासमा बसेर पनि शिक्षा, स्वास्थ्य, विकास निर्माणको क्षेत्रमा सहयोग गरिरहेका छौं । मानवअधिकार र लोकतन्त्रको सम्बद्र्धनमा जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797