कोरोना उपचार गर्ने अस्पताल नतोकिँदै बिरामी भर्ना लियौं

डा.शैलेन्द्रविक्रम पोखरेल
मेडिकल सुपरिटेन्डेन्ट, धौलागिरी अञ्चल अस्पताल बाग्लुङ

सम्मानको श्रृंखला 

म संलग्न अस्पतालमा कोभिडका तीनजना बिरामीको उपचार ग¥यौं । कोभिड ‘सस्पेक्टेड’ भनेर सबैभन्दा पहिलो केस पट्नाबाट आएका नेपालीलाई राखेका थियौं । उहाँलाई आइसोलेसनमा राखेर उपचार गरेका थियौं । पीसीआरबाट पुष्टि भएका कोराना पोजेटिभको पनि धौलागिरी अञ्चल अस्पतालमा उपचार गरेका थियौं । उहाँ तीनजना अहिले डिस्चार्ज भइसक्नु भएको छ ।
परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरूलाई डिस्चार्ज गरेका हौं । पछिल्ला दुईवटा केसमा एकजना वृद्ध महिला हुनुहुन्थ्यो । पोजेटिभ देखिएकी अर्की किशोरी केही दिन अघि डिस्चार्ज हुनु भयो । वृद्ध महिलाको उपचार गर्नु जोखिमपूर्ण थियो । एउटा उहाँको उमेर अर्को दीर्घरोग । कोरोना पोजेटिभ देखिनुअघि देखि नै उहाँले दमको औषधि खाइरहनु भएको रहेछ । उपचार गर्न अस्पताल आएको बरामीलाई हामीले फर्काउन मिल्दैन थियो, हँुदैन पनि थियो । त्यसैले कोरोना संक्रमणको उपचार गर्ने अस्पताल नतोक्दै हामीले बिरामीलाई भर्ना लियौं । बिरामी भर्ना लिए लगत्तै उपचारको प्रबन्ध व्यवस्थित तरिकाले मिलायौं । त्यतिखेर स्रोत साधन सिमित थियो । सर्जिकल मास्कको समेत अभाव थियो स्थानीय स्तरमै प्लाष्टिकको पीपीई बनायौं । मास्कको उत्पादन पनि स्थानीय तबरमै भयो । अप्ठ्यारोलाई व्यवस्थापन गर्दै अस्पताल अघि बढ्यो । वास्तवमा त्यत्तिबेलाको अवस्था तनावपूर्ण थियो । एकपछि अर्को गर्दै देखिएका समस्यासँग जुध्दै अघि बढेको त्यो क्षण वास्तवमा तनावपूर्ण थियो तर, त्यसको व्यवस्थापन गर्न अस्पताल सफल भयो । अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतकाको मिहिनेत र सहयोग भावले मात्रै यो संभव भएको हो । अस्पतालको सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु । सहकार्यले मात्रै यो संभव भएको हो ।
सस्पेक्टेडसहित तीनजनालाई उपचार गर्दाको अनुभव निकै स्मरणीय रह्यो । उपचारको क्रममा खट्दा बिरामीले गरेको सहयोगले हाम्रो आत्मबल बढ्यो । काम गर्न प्रेरणा मिल्यो । ती वृद्ध आमाले उपचारको प्रसंशा गर्दै ‘परिवारको सदस्यले जस्तै डाक्टर–नर्सले उपचार  गर्नुभयो’ भन्नु भएछ । उहाँको त्यो वचनले डराएको मनलाई सान्त्वना दियो  । कामप्रतिको प्रतिबद्धता बढायो । अर्की बहिनी जो, युवा उमेरकी हुनुहुन्थ्यो । त्यो उमेरमा पनि उहाँले देखाउनु भएको धैर्यता र संयमताले बिरामीबाट पाएको ऊर्जाले बनेको पर्खालमा अर्काे इँटा थप्यो । उहाँ निकै संयमित हुनुहुन्थ्यो । रोगको बारेमा बुझाउँदा सजिलै बुझ्नु हुन्थ्यो । आइसोलेसनमा बस्नु बिरामीको उपचार हो । समुदायलाई सुरक्षित बनाउन गरेको सावधनी हो, भन्ने कुराहरू उहाँहरूले बुझ्नु भयो ।
नेपालमा कोरोना संक्रमण देखिनु अघि चीनको वुहान, बेलायत, अमेरिकामा संक्रमितको संख्या दिनहुँ हजारौंको दरले बढिरहेको खबर आइरहेका थिए सञ्चारमाध्यमबाट । मनमा एक खालको त्रास थियो । हाम्रो अस्पतालमा पनि कोरोनाका बिरामी उपचारका लागि आएको थाहा पाएछ मेरो छोराले । त्यतिबेला उसले भनेको सम्झन्छु, ‘बाबा कोरोनातिर नजानु है ।’ परिवारका अरू सदस्यको मनमा पनि एक किसिमको चिन्ता थियो । तर, छोराले गम्भीर हुँदै त्यसो भन्यो । उसको रोगप्रतिको संवेदनशीलता देखेर खुसी लाग्यो । सचेत गराएकोमा मैले उसलाई धन्यवाद दिएँ । कोरोनालाई अहिले सबैले सतर्क हुने त्रसित नहुने तरिकाबाट बुझ्नु पर्नेछ । हाम्रो अस्पतालमा उपचार गर्दा, संक्रमितको संख्या पाँच–छ जना थियो । अहिले ३०० को हाराहारीमा पुगिसक्यो । अवस्थालाई विश्लेषण गर्दा, संक्रमण अब समुदायामा फैलन सुरुवात भएको छ । यसलाई बेलैमा रोक्न सकिएन भने यो व्यापक हुन्छ । संक्रमण रोक्ने भनेको सीमा नाकाहरूलाई बलियो बनाउनु पर्छ । एक जिल्लाबाट अर्को जिल्लामा संक्रमण फैलिरहेको अवस्था छ, त्यसको नियन्त्रण गर्नुपर्छ । नियमित हात धुने, सामाजिक दूरी कायम  राख्ने र केही समयका लागि अनावश्यक रूपमा भीडमा नजाने यी नियमलाई पालना गर्न सकेँ, हामीले कोरोना जित्न सक्छौं ।
 Dr. Sailendr Pokheral # Nepal’s Lock Down # Health Ministry # Corona suspected # Isolation # डा.शैलेन्द्रविक्रम पोखरेल # मेडिकल सुपरिटेन्डेन्ट # धौलागिरी अञ्चल अस्पताल # कोरोना उपचार # कोराना पोजेटिभ # सस्पेक्टेड

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797