कोरोना महामारी ः नेपालको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने अवसर

डा .कैनी आर्डेन विश्वविद्यालय, लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह प्राध्यापकको रूपमा काम गर्छन्

कोभिड–१९को महामारीले विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ । तर, यो असर कति परिमाणमा हुन्छ भन्ने निश्चित गर्न अहिले नै गाह्रो छ । अर्थतन्त्रमा पर्ने नकारात्मक असरले अधिकांश क्षेत्र प्रभावित हुने कुरामा दुविधा छैन । अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, व्यवसाय, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा कोभिड–१९ को असर दीर्घकालसम्म रहन्छ । यति हुँदाहुँदै पनि कोभिड–१९ ले निम्त्याएका चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ । अवसरमा बदल्न सकिने क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र एक हो । विशेष गरी नेपाल जस्तो विकासोन्मुख देशहरूले यो महामारीसँगसँगै देखिएका चुनौतीलाई अवसरमा बदल्न सक्छन् र बदल्नु पर्छ भन्ने लाग्छ ।

यसका लागि गर्नुपर्ने मुख्य काम केही छन् । पहिलो काम भनेको कोभिडमा हामीले के काम ग¥यौं भनेर हेर्नु आवश्यक छ । दोस्रो, काम गर्दा के के कमजोरी भए त्यसको मिहिन तरिकाले विश्लेषण गर्नुपर्छ  । भएका कमजोरीलाई पनि व्यवस्थापकीय र योजनागत कमजोरी के थिए भनेर छुट्याउनु आवश्यक हुन्छ । तेस्रो, भएका कामहरुको पुनर्मूल्यांकन अत्यावश्यक हुन्छ । पुनर्मूल्यांकनले काम गर्दा भएका गल्ती कमजोरी पहिचान गर्न सजिलो हुन्छ । यसले भविष्यमा त्यस्ता कमजोरी र गल्तीलाई नदोहो¥याउन समेत मार्गप्रशस्त गर्छ । दण्ड र पुरस्कारलाई समेत यसले प्रोत्साहित गर्छ । यी सम्पूर्ण कुराको विश्लेषणपछि भविष्यमा आउन सक्ने यस्तै महामारीबाट जोगिन÷बच्नका लागि योजना बनाउन सकिन्छ । ती योजना एक वर्षे, पाँच वर्षे, दश वर्र्षे र बीस वर्षेसम्मको हुनसक्छन् । योजना बनाएर काम गर्दा अप्ठ्यारोमा राज्यले दिनुपर्ने सेवा सुविधाबाट कोही पनि बञ्चित हँुदैनन् । गल्ती कमजोरी कम हुन्छन् ।
स्वास्थ्य सेवा त्यसमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अत्यावश्यक कुरा भनेको जनशक्ति हो । ती योजनाले जनशक्ति उत्पादन र उनीहरूको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ । जनशक्तिपछि स्वास्थ्य सेवाको लागि महत्वपूर्ण अर्को पक्ष भनेको स्रोतसाधन, उपकरण, शैय्या र भौतिक पूर्वाधार हुन् । भौतिक पूर्वाधारको कुरा गर्ने हो भने, नेपालको दुर्गम ठाउँहरूमा अझै पनि अस्पतालहरू छैनन् । कतिपय सुगम ठाउँका जनता समेत अस्पतालको सेवाबाट विमुख छन् । उनीहरू स्वास्थ्य उपचार केन्द्रबाट मात्रै सामान्य स्वास्थ्य सेवा लिन बाध्य छन् ।
कोभिडले निम्त्याएको चुनौतीलाई अवसरमा बदल्दै तत्कालै गाउँपालिका र नगरपालिकामा भएका स्वास्थ्य उपचार केन्द्रहरूको स्तरोन्नति गर्नुपर्छ । ती केन्द्रले पु¥याउने सेवा सुविधा विस्तार गर्नु आवश्यक हुन्छ । स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीले दिने स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ । यसैगरी भइरहेका अस्पतालहरूले नागरिकलाई दिने सेवा सुुविधा प्रभावकारी र चुस्त बनाउनुपर्छ । यी काम सँगसँगै महानगरपालिका, नगरपालिका र गाउँपालिकाको क्षमता र आवश्यकता अनुसार नयाँ अस्पताल निर्माणको कामलाई अघि बढाउनुपर्छ । कति शैय्याको अस्पताल निर्माण गर्ने भन्ने विषय त्यहाँको आवश्यकतामा निर्भर हुन्छ । त्यसको आधारमा कत्रोे अस्पताल बनाउने निर्णय गर्नुपर्छ ।
अस्पताल निर्माण भनेको थोरै स्रोत साधनले निर्माण सम्पन्न हुने क्रंक्रिट भवन होइन । पूर्वाधारसहितको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि बजेट र अन्य स्रोत साधनको पर्याप्त आवश्यकता पर्छ । पर्याप्त गृहकार्य र योजनापछि मात्रै अस्पताल निर्माण गर्न सकिन्छ । त्यसको लागि समय लाग्छ । फेरि अर्को कुरा, नेपालमा काम गर्दा झेल्नुपर्ने प्रशासनिक अवरोधहरू धेरै छन् । अस्पतालको लागि दरबन्दी सिर्जना, उपकरण खरिदको लागि टेण्डर, भौतिक संरचना निर्माणको लागि ठेक्का गर्नेलगायतका थुपै्र झन्झटिला प्रक्रियाहरू छन् । यी सबै प्रक्रिया पुरा गरेर अस्पताल निर्माण गर्दा समय लाग्न सक्छ । त्यसैले, भएका स्वास्थ्य पूर्वाधारको स्तरोन्नति गरेर त्यसबाट जनतालाई तत्कालै प्रभावकारी सेवा दिन अत्यावश्यक छ ।
स्वास्थ्य सेवालाई चुस्त बनाउनका लागि गर्नै पर्ने अर्को काम भनेको स्वास्थ्य क्षेत्रको योजना र व्यवस्थापन हो । जनशक्तिको व्यवस्थापन, भौतिक स्रोत र साधनको व्यवस्थापन नभइ अस्पतालहरूले दिने स्वास्थ्य सेवा प्रभावकारी हँुदैन । जसका लागि व्यवस्थापकीय नेतृत्व सवल र सक्षम हुन जरुरी छ । विकसित देशमा जस्तै नेपालको स्वास्थ्य क्षेत्र र सेवालाई व्यवस्थित गर्न अस्पतालको व्यवस्थापनको जिम्मेवारी  दक्ष व्यवस्थापकहरूलाई दिनुपर्छ । नेपालको सन्दर्भमा भन्ने हो भने, धेरैजसो अस्पतालहरूको व्यवस्थापन चिकित्सक वा अन्य प्राविधिक मान्छेलाई दिने गरिन्छ । उनीहरू आफ्नो विषयमा विज्ञ हुन सक्छन् तर उनीहरूलाई अस्पताललाई कसरी व्यवस्थित गर्ने थाहा नहुन पनि सक्छ । एउटा राम्रो डाक्टरले अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सफलतापूर्वक गर्न सक्छ भन्ने होइन । अस्पतालको व्यवस्थापन राम्रो बनाउनको लागि त्यहाँ काम गर्ने डाक्टर, प्राविधिक कर्मचारीलाईलाई तालिम दिन जरुरी छ । बेलायतमा चाहिं के छ भने डाक्टर र प्राविधिकलाई अस्पताल व्यवस्थापनको तालिम उपलब्ध गराइन्छ । विकसित देशको जस्तै स्वास्थ्य सेवा नेपाली जनतालाई दिनका लाागि कानुनी व्यवस्था आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई मौलिक हकअन्तर्गत राखे पनि त्यसो हुन सकेको छैन । निजी अस्पतालको त कुरै छाडौं, सरकारी विद्यालय अस्पतालमा समेत पैसा तिरेर उपचार गर्नुपर्ने अवस्था छ ।  केही औषधिहरू निःशुल्क दिने भने पनि औषधिहरू भनेको समयमा उपलब्ध हुन सकेको छैन । यो अवस्थाको अन्त्य हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797