पाँचवर्षका जुम्ल्याहा छोरा धेरै ‘मिस’ हुन्छन्

शान्ता भण्डारी निमित्त मेट्रोन, भरतपुर अस्पताल, चितवन

भरतपुर अस्पतालमा मैले काम गर्न थालेको आठ महिना मात्रै भएको छ । यो अस्पतालमा काम गर्नुअघि अन्य अस्पतालहरूमा १३ वर्ष काम गरेँ । अहिले भरतपुर अस्पतालको कोभिड म्यानेजमेन्ट टिममा छु । मेरो मुख्य जिम्मेवारी नर्सिङ कर्मचारीको व्यवस्थापन र कार्यालय सहयोगीको व्यवस्थापन गर्नु हो । उहाँहरूलाई उत्प्रेरणा आवश्यक छ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न हुनु चुनौतिपूर्ण काम हो । जोखिम मोलेर काम गर्नेको आत्मबल बढाउनु अहिलेको आवश्यकता हो । यसलाई मैले प्राथमिकतामा राखेर काम गरेको छु ।
कोरोना संक्रमण अघि अस्पतालमा काम गर्नु र अहिले काम गर्नु नितान्त भिन्न छ । काम गर्ने तरिका, वातावरण सम्पूर्ण कुरा फरक छ । बिरामीको उपचार र सेवामा अरू बेला भन्दा अहिले धेरै खट्नुपर्छ । तर, वातावरण पहिलाको जस्तो सहज छैन । डर भएपनि, उच्च मनोबलका साथ काम गर्नुपर्ने अवस्था छ ।
पहिलोपटक कोरोना संक्रमितको केस आउँदा हामी सबैजना डराएका थियौं । सिनियरहरूसँग सल्लाह लिएर अगाडि बढ्यौं । कामप्रति समर्पित स्वास्थ्यकर्मीको बलियो टिमले हामी बिरामीको उपचारमा सफल भइरहेका छौं । जति संक्रमित आएपनि उपचार गर्न सक्छौं जस्तो लाग्छ । तर, यस्तो परिस्थिति नआओस् ।
भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोरोना (अस्थायी) अस्पतालमा ‘माइल्ड केस’ मात्रै राखेका छौं । स्टेबल केसहरूलाई कोरोना अस्पतालमा राखेका छौं । अक्सिजन लगाउनुपर्ने संक्रमित बिरामीलाई भरतपुर अस्पतालमा नै राखेका छौं । भरतपुर अस्पतालमा दुईजना उपचाररत हुनुहुन्छ ।
पाँच जनाको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ । हाल भरतपुर अस्पतालमा उपचार गराइराख्नु भएकाहरू सुरूमा अस्थायी अस्पतालमा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भयो भनेपछि जेठ ९ गते भरतपुर अस्पतालमा सारेका हौं । अन्य थप समस्या देखिन्छ कि भनेर उहाँहरूलाई भरतपुर अस्पतालमा सारेका हौं । कोरोना अस्पताल भनेको सरकारले गरेको वर्गीकरण अनुसार लेभल १ अस्पताल हो । लेभल १ अस्पतालमा माइल्ड केसलाई राखिन्छ । अस्थायी अस्पताल भएकाले त्यहाँ सबै खालको सुविधा छैन । तर, बिरामीको सहयोगले हामीलाई काम गर्न सजिलो भएको छ । सिसी क्यामेरामा हामी उहाँहरू के गरिरहनु भएको छ भनेर हेर्छौ । कहिले व्यायाम गरिरहनु भएको हुन्छ, कहिले आफन्तसँग कुराकानी गरिरहनु भएको हुन्छ । चिन्तित भएर बसेको देखिँदैन । उहाँहरूको त्यो अवस्था देख्दा खुसी लाग्छ । उपचारका लागि भर्ना हुने बित्तिकै उहाँहरूले आफन्तलाई पनि प्रत्यक्ष भेट्न नपाउने, अस्पतालमा पनि कोही भिजिटर नआउने भन्दै नरमाइलो मान्नु भएको थियो ।  पीपीई लगाएर भौतिक दूरी कायम गर्दै ड्युटीमा खटिएका चिकित्सक नर्स पुग्दा उहाँहरूले सहज महसुश गर्दै जानु भयो ।
नियमित ड्युटीमा बसेपछि दुई साता क्वारेन्टिनमा बसेँ । ड्युटी सकेपछि क्वारेन्टिनमा बस्नु अनिवार्य हो । यो अनिवार्यता परिवार र समूदायलाई सुरक्षित बनाउनका लागि गरिएको हो । क्वारेन्टिनमा बसेर घर जाँदा एकदमै गाह्रो भयो । पाँच वर्षका दुई जुम्ल्याहा छोराहरूलाई घरमा छाड्दा उनीहरूलाई पनि समस्या भयो । मलाई पनि एकदमै गाह्रो भयो । एकदमै मिस भयो उनीहरू । अहिले पनि ड्युटीको टुंगो हुँदैन । अधिकांश समय अस्पतालमा नै बित्छ । ढिलै भए पनि राति चाहीं अहिले घर जान्छु । घर गएपछि सबैभन्दा पहिला बाथरुम छिर्छु । आफ्ना लुगा त्यहीं राख्छु । फ्रेस भएर मात्रै छोराहरूलाई भेट्छु, परिवारका सदस्यसँग भेटघाट हुन्छ । कोरोना संक्रमणबाट जोगिन सबैभन्दा महत्वपूर्ण कुरा व्यक्तिले आफ्नो बानी परिवर्तन गर्नुपर्छ । लागेको बानी परिवर्तन गर्न धेरै गाह्रो छ । मास्क लगाउने तरिका मिलेको छैन । त्यो सुधार गर्नु प¥यो । हात धुने बानी छैन, अब हात धुने बानी बसाल्नु पर्छ । व्यक्ति–व्यक्तिबीच भौतिक दूरी पनि त्यत्तिकै आवश्यक छ । त्यसपछि मात्रै हामीले कोरोना जित्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797