मम्मीले भन्नुभयो, ‘भो बाबु नजाऊ, जागिर पछि खोजौँला’

सम्मानको श्रृंखला 
डा.उदयनारायण सिंह
कोरोना फोकल पर्सन, नारायणी अस्पताल, वीरगन्ज

गएको चैत ३० गते अचानक एउटा फोन आयो । त्यो फोन सामान्य थिएन ।  ३ जना कोरोना भाइरस संक्रमणको शंका लागेकाहरू अस्पतालमा आउँदै हुनुहुन्छ भन्ने सूचना दियो त्यो फोनले । त्यो सूचनासँगै हामीले अस्पतालको नियमित कामलाई रोक्यांैं । काम गर्ने तरिका थोरै बदल्यौं । एउटा टिम बनायौं । यो वर्षको वैशाख १ गते, अरु वर्ष जस्तो उल्लासमय थिएन । संक्रमितको उपचारमा खटिने मान्छे, घरबाटै दिनहुँ अस्पताल आऊजाऊ गर्न ठीक लागेन । त्यसैले, कोभिडले फिक्का बनाएको नयाँ वर्षको दिन घरबाट आफ्नो सामान लिएर निस्कने निधो गरौं । मैले घरमा अस्पताल नजिकैको होटेलमा क्वारेन्टाइन बसेर उपचारमा खटिने कुरा सुनाएँ । त्यो क्षण निकै भावुक बन्यो । मम्मीले जागिर छाड्न प्रस्ताव गर्नुभयो ।
‘यस्तो जागिर पछि पाइन्छ बाबु, जानु पर्दैन,  छोडिदेऊ’, भन्नुभयो । बाबा पनि भावुक हुनु भयो । श्रीमती, छोराछोरीले नरमाइलो अनुभव गरे । त्यो क्षणलाई छिचोल्दै मैले उहाँहरूलाई सम्झाएँ । हामी नगए पनि अरू कोही न कोही जानै पर्छ यो हाम्रो ड्युटी (कतव्र्य) हो । जान दिनुस् भनेँ । बिरामीको उपचारमा खटिनु भनेको सेवा हो भन्दै यो काम यज्ञ लगाउनु जतिकै हो भन्दै सम्झाएँ । कोरोना भाइरसलाई जित्ने गरी उपचारमा खटिनु पर्ने भएकाले यो युद्ध जस्तै हो भन्दै परिवारजनलाई बुझाएँ । मेरो परिवारमा मात्रै होइन, त्यो टिमका साथीहरू सबैजनालाई आमाले त ‘जागिर छाडिदे पछि अर्को पाइन्छ’, भन्नु भएको रहेछ ।
कोरोना संक्रमितलाई अस्पतालमा पहिलो पटक ल्याएको दिनकोे अनुभव अनौठो छ । उहाँहरू तीनैजना भारतीय नागरिक हुनुहन्थ्यो । उहाँहरू मस्जिदमा बस्नुहुन्थ्यो । त्यहाँ बस्दा कोरोनाको लक्षण देखिएपछि उपचारका लागि ल्याइएको थियो । अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । ठाउँ नयाँ थियो, वातावरण फरक थियो उहाँहरूका लागि । पहिलो रात उहाँहरूले जस्तै असजिलो अनुभव ग¥यौं हामीहरूले पनि । ‘हामीलाई यहाँ किन ल्याएको, हामी बस्दैनौ…..’ भन्नु भयो । त्यो परिस्थिति सम्हाल्न गाह्रो भयो । उहाँहरूलाई बुझायौँ । रोगको प्रकृतिबारे छलफल ग¥यौं । घर परिवारको बारेमा सोध्यौं । परिवारका सदस्यको सम्पर्क नम्बर माग्यौैं । परिवारसँग कुराकानी गरेपछि अवस्था सामान्य भयो । सहजताका लागि उहाँहरूले भने जस्तै व्यवस्था गरिदियौं । रोटी खाने इच्छा देखाउनु भयो । हामी क्वारेन्टाइन बसेकै होटेलबाट रोटीको व्यवस्था गरिदियौंं । भातको सट्टा रोटी देखेपछि निकै खुसी हुनुभयो । यो समूहमा तीन जना ४० वर्ष माथिका र एक जना १९ वर्षका हुनुहुन्थ्यो । १९ वर्षका ती युवकले ‘मेरी श्रमती सुत्केरी हुने समय आएको छ, उनको रेखदेख गर्ने कोही छैन, म घर जान्छु, मलाई जान दिनुस्’ भनेको क्षण निकै मार्मिक थियो । पछि हामीले बुझ्यौं, वास्तवमा उहाँको परिवारमा समस्या रहेछ । वृद्ध बुबाआमा हुनुहुँदो रहेछ । घरको एक्लो छोरो भएकाले जिम्मेवारी धेरै भएको बुझ्यौं हामीले । केही दिनपछि उहाँले खुसी हुँदै आफ्नो सन्तान जन्मिएको सुनाउनु भयो ।

वास्तविकता बुझेर निर्णय गरिदिनुस् 

भौतिक संरचनाले यो वार्डलाई सुविधा सम्पन्न बनाउन धेरै मिहनेत गर्नुप¥यो । पाँच शैय्याको आइसोलेसन वार्ड बनायौं । संक्रमितहरूको संख्या बढ्दै गएपछि २० शैय्याको आइसोलेसन वार्ड तयार प¥यौं । हावाहुरीले त्यो वार्ड भत्कियो । अहिले सर्जरी वार्डलाई आइसोलेसन वार्ड बनाएका छौं । अहिले पर्याप्त ठाउँ भएकाले असजिलो छैन । तर अहिलेसम्म पीसीआर मेसिन जडान हुन सकेको छैन । मेसिन जडान नभएकाले परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ । केसहरू बढ्दै गए भने अन्य सामानको पनि अभाव हुन्छ । प्रदेश २ को कोरोना संक्रमणको ‘रेड एरिया’ हो । यो अस्पतालमा अहिले ८ जनाको उपचार भइरहेको छ । ग्राउण्ड लेभलको समस्या बुझेर निर्णय गर्नुप¥यो । निर्णय पुस्तिकमा सिमित हुने निर्णय नगरिदिनुस् । वास्तविकता र यथार्थ एकातिर हुन्छ, निर्णय अर्कोतिर हुन्छ । वास्तविकता बुझेर निर्णय गर्नुप¥यो । संघीय सरकार र प्रदेश सरकारको बीचमा समन्वयको अभाव अनुभव गरिरहेका छौं । यसको जतिसक्दो छिटो अन्त्य हुनुपर्छ । जनशक्ति र सुविधासम्पन्न पूर्वाधार तत्कालको आवश्यकता हो । यसको अभावमा कोभिडको चुनौतिसँग लड्न गाह्रो हुन्छ । चुनौति सामना गर्न समन्वय र तयारी अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797