‘मैनबत्तीबालेर सपथ लिएको सम्झिँए’

सम्मानको श्रृंखला 
विजयालक्ष्मी कोइराला, इन्चार्ज आइसोलेसन वार्ड, 
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

तिबेला म नर्सिङ विषयको विद्यार्थी थिएँ, त्यत्तिबेला लिएको सपथले मलाई यति ऊर्जा देला भन्ने सोचेको पनि थिइन । जुन दिन कोरोना भाइरस (कोभिड—१९) का बिरामी राख्न निर्माण गरिएको आइसोलेसन वार्डको जिम्मेवारी पाएँ, त्यत्तिखेर मन आत्तिएको थियो । मन त्यसै त्यसै डरायो पनि । मन चिसो भयो ।  डर पनि किन नलागोस्, विश्वका महारथी मुलुकहरू समेत यसबाट आक्रान्त छन् । तर, मैले मनभित्रको त्यो डरलाई जिँते । झण्डै ३५ वर्ष अघिको दिन सम्झिएँ ।
नर्सिङ पढ्न सुरू गर्दा मैनबत्ती बालेर जस्तोसुकै अवस्थामा पनि सेवा गर्छु, जात भन्दिन, वर्ग भन्दिन, रङ भन्दिन ….., यी वाक्यले मलाई ऊर्जा दियो । मान्छेको सेवा गर्न पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिएँ । यो क्षेत्रमा प्रवेश गर्ने नवआगन्तुकलाई समेत प्रेरणा बन्ने निधो गरेँ । त्यसैले यो जिम्मेवारी सम्हालेँ । मैले स्वास्थ्य क्षेत्रमा काम गर्न थालेको ३२ वर्ष भयो । आफ्नो पेशाको महत्व र आवश्यकता देखेर मलाई मान्छेको जीवनसँग जोडिएको पेशा छानेकोमा  गर्व लाग्यो ।
जिम्मेवारीको निर्णयको खबरसहित अबेर घर पुगेँ । परिवार सदस्य जसरी सुरूमा म डराएको थिएँ, त्यसैगरी डराउनु भयो । घरमा ९० वर्षको सासूआमा हुनुहुन्छ । उहाँको भाव डराएको पाएँ । छोराछोरी, श्रीमानको अनुहारमा डरको दृश्य देखेँ मैले । सबैलाई सम्झाएँ, जुन दिन कोरोना संक्रमित धेरै आउनु हुन्छ, त्यो दिनदेखि घरमा आउँदिन, अस्पतालमै बस्छु भनेँ । पीपीइ लगाउने बताएँ ।  पीपीइको अर्थ बुझाएँ । आफ्नो जिम्मेवारी सम्झाएँ । त्यसले सबैलाई सकारात्मक बन्न सहयोग ग¥यो ।
अस्पतालले सञ्चालन गरेको फिबर क्लिनिकमा जँचाउन आउने बिरामीको ‘स्याम्पल  टेस्ट’ गर्नुपर्छ । परीक्षणका लागि स्याम्पल संकलन गर्नुपर्छ । वार्डमा भर्ना भएका बिरामीको जाँच गर्नुपर्छ । स्यानिटाइजर प्रयोगदेखि मास्क लगाउने तरिकासम्म सिकाउनु पर्छ । अस्पतालमा मैले गर्ने अर्को महत्वपूर्ण काम भनेको बिरामीलाई परामर्श दिने हो । मनोवैज्ञानिक रूपमा उहाँहरूलाई बलियो बनाउने हो ।  धेरै रोग र संक्रमणका बारेमा बुझेकाले पनि होला, आत्मबल बढेको छ । मन डराएको छैन ।
नेपालमा  कोरोना भाइरस संक्रमण देखिनुअघिसम्म अस्पतालमा ८ घण्टा ड्युटी गरे पुग्थ्यो । तर, अहिले २४ घण्टा नै कन्ट्याकमा हुनुपर्छ । एटेन्ड बाइ बस्नुपर्छ । यसले थप जिम्मेवारी महसुश भएको छ ।
कामको अनुभवले पनि आत्मबल बढाउने रहेछ । त्यो आत्मबलले गर्दा कोरोना संक्रमणविरुद्ध काम गर्न साहस बढेको अनुभव गरेको छु । चिकित्साकर्मी, स्वास्थ्यकर्मीलगायत केही त्यस्ता पेशा छन्, ती पेशामा आबद्ध भएकाहरू घर बाहिर निस्कनै पर्छ । तर, जस जसलाई घरबाट बाहिर ननिस्के पनि हुन्छ, घरमै बसेर काम गर्न सकिन्छ, उहाँहरूलाई घरमै बसिदिन अनुरोध गर्छु । क्वारेन्टिनमा बस्नु भनेको कोरोनाको संक्रमणबाट जोगिन खाएको औषधि जस्तै हो । सरसफाइमा ध्यान दिनुहोस् । सामाजिक दूरी कायम  गनुहोस् भन्न चाहन्छु । विश्वका अन्य मुलुकमा जस्तो क्षति भएको छैन भन्दै यसलाई कम नआकौं । सतर्क होऔं । त्रसित नबनौं ।

नोट ः शब्द घरले तयार पारेको यो सामग्री सञ्चारमाध्यम वा अन्य प्रयोजनका लागि प्रगोग गर्नु पर्ने भए अनिवार्य रूपमा स्रोत उल्लेख गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797