राहत बाँड्न घरघरै पुग्दा मन कुँडियो, आँखा रसाए

   प्रकाश गुरुङ सल्लाहकार, गैरआवासीय नेपाली संघ, बेलायत

तीन साताका लागि लण्डनबाट नेपाल आएको थिँए । आएको केही दिनमै लकडाउन सुरु भयो । काम उता, मान्छे यता । यो समय कसरी बिताउने होला जस्तो लागेको थियो, यहाँ भएको काम सम्झँदा, नेपाल बसाई सदुपयोग भयो जस्तो लागिरहेको छ । दुःखमा परेका, अप्ठ्यारोमा परेका नेपालीलाई आँफैले भेटेर राहत  विवरण गर्न पाएँ । उहाँहरूको अप्ठ्यारो आफ्नै कानले सुन्न पाएँ । आँखाले देख्न पाँए । उहाँहरूबाट धेरै कुरा सिक्ने मौका पाएँ ।
 व्यक्तिगत रूपमा भन्नु पर्दा, यो पटकको नेपाल बसाईले मलाई   हाम्रो नजिकका मान्छेको समस्या बुझ्न मद्दत ग¥यो । अवस्था बुझ्न पाँए ।
सालको दुईपटक नेपाल आउँछु । तीन साताका लागि नेपाल आउँदा केही दिन आराम गर्नमै बित्छ । बाँकी समय आफन्तसँगको भेटघाटमा खर्च हुन्छ । नेपालमा सहयोग त बेलायत बसेर पनि गरेका हौं । तर, आफ्नै आँखाले देखेर, आफ्नै कानले सुनेर गर्न पाउँदा मिल्ने खुसी फरक हुँदो रहेछ । त्यो खुसीले आनन्द महसुश गरिरहेको छु ।
पोखराको सिधानेमा जन्मिएको हुँ । २२ वर्ष अघि बेलायत  गएको हुँ । वृटिश गोर्खा आर्मीबाट सेवा निवृत्त भएपछि अहिले बेलायतको रक्षा मन्त्रालयअन्तर्गतको एउटा ‘बडी’ मा काम गर्छु । लकडाउनका कारण नेपालमै भए पनि बेलायतका साथीहरूसँग निरन्तर सम्पर्कमा थिएँ । पोखराका चारवटा गाउँको एउटा समाज छ । पोखराबाट २३ किलोमिटर पश्चिममा पर्ने गाउँ सिधाने, कुद्धीडाँडा, दम्दमे र मकनपुरका बासिन्दा जो बेलायतमा हुनुहुन्छ, उहाँहरू संलग्न भएको समाज हो यो ।  सन् २०१२ मा गठन गरिएको उक्त समाजको नाम पञ्चासे हर्पन डाँडा समाज यूके हो ।
म त्यो समाजको महासचिव हुँ । नेपालको अवस्था देखेपछि बेलायतमा रहनु भएका साथीहरू जुम मिटिङमार्फत यहाँको अवस्था वर्णन गरेँ । सहयोग गर्नका लागि मिटिङमा एजेण्डा राखेँ । मेरो एजेण्डामा छलफल भयो । त्यसपछि फण्ड रेजिङको काम सुरु भयो । फण्ड रेजिङ सुरु भएको १० दिनमा हामीले राहत बाँड्न सुरु गरिसकेका थियौं । राहत हामीले दुई चरणमा वितरण गरेका छौं । पहिलो चरणमा हामीले ती चारवटा गाउँ (सिधाने, कुद्धीडाँडा, दम्दमे र मकनपुर) का बासिन्दा जसलाई वास्तवमा राहत आवश्यक थियो, उहाँहरूलाई प्रदान ग¥यौं । उहाँहरूको घर घरमै पुगेर राहत वितरण गरेका थियौं । मलाई कस्तो लाग्छ भने, राहत दिने नाममा कसैलाई तीन, चार किलोमिटर हिँडाउनु ठीक होइन । त्यसैले, हामीले राहत घर घरमै पु¥याइदिएका हौं । यो चरणअन्तर्गत ७९ घर परिवारलाई खाद्य सामग्री प्रदान गरेका थियौं ।
राहत भनेपछि कस्तो हुने रहेछ भने, सित्तै पाइन्छ भने किन नलिने । यस्तो मनस्थितिका कारण राहतका लागि सबै तयार हुने अवस्था सिर्जना हुने रहेछ । त्यस्तो सोचाई भएको पाएँ । त्यसैले, राहत दिनुपर्ने अवस्थाको परिवार कति छ, त्यसको विवरण संकलन हामीले स्थानीय टोल संयोजक र टोल सुधार समिति मार्फत गरेका थियौं । ती गाउँहरूमा राहत बाँड्न जाँदा नेपालका कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको थिएन । तर, बेलायतमा धेरैको मृत्यु भइसकेको थियो । राहतको महत्व दर्शाउन मैले उहाँहरूलाई यी सबै कुरा बताएँ ।
राहतका लागि संकलन गरेको फण्डमा एक जना यस्तो व्यक्तिको पनि सहयोग थियो, जो संक्रमणका कारण धेरै दिन अस्पतालमा हुनुहुन्थ्यो । यो कुरा पनि मैले उहाँहरूलाई सुनाएँ । यो सुनाउनुको अर्थ राहतको महत्व
बुझाउनु थियो ।
अब त्यहाँ भेटेको एउटा परिवारको समस्या र दुखको कुरा भन्छु । एउटा परिवार रहेछ, जहाँ नातिनी र बज्यै मात्रै । एउटा सानो कोठामा बस्नु हुँदो रहेछ । बज्यै २५ वर्षको हुँदा नै उहाँको श्रीमान बेपत्ता हुनु भएको रे । अहिलेसम्म अत्तोपत्तो छैन । ती नानीको बुबा पनि उनी १२ वर्षको हुँदा बितेका रहेछन् । उनको आमा पनि अन्तै हिँडेपछि बज्यैले दुखसुख गरे नातिनी हुर्काउनु भएको रहेछ । जसोतसो गरेर १२ कक्षा पढेपछि त्यसपछिको पढाई अघि बढाउने सक्ने अवस्था भएनछ ती नानीको । पढ्ने अवस्था नभएपछि ती नानीले पसलमा काम गर्न थालेकी रहेछिन् । उनको पढाई अगाडि बढाउन के गर्न सकिन्छ, त्यसतर्फ पनि हामीले सोचिरहेका छौं । दोस्रो चरणको राहतअन्तर्गत गाउँबाट आएर पोखरामा बसिरहेका तर अप्ठ्यारोमा परेकालाई राहत दिएका हौं । दोस्रो चरणअन्तर्गत १७ घर परिवारलाई उनीहरू बसिरहेको घर डेरामै पुगेर राहत दिएका थियौं । एक महिनाकी सुत्केरी हुनुहुन्थ्यो राहत पाउनेमा । गर्भवती महिला पनि हुनुहुँदो रहेछ । जीवन धान्नको लागि नभई नहुने अत्यावश्यक सामग्री पनि उहाँहरूसँग रहेनछ । त्यो देखेर मन कुँडियो । आँखा रसाए । यहाँ पनि स्थानीयको सहयोगमा राहत आवश्यक भएकाहरूको पहिचान गरेका थियौं ।
पञ्चासे हर्पनडाँडा समाज यूके स्थापना भएको चार वर्षपछि नेपालमा ठूलो भूकम्प गयो । त्यतिबेला पनि यो समाजले सहयोग गरेको थियो । भूकम्पमा भत्किएको घर बनाउन नसकेकालाई आर्थिक सहयोग गरेका थियौं । पहिरो, बाढी पीडितलाई पनि सहयोग गरेका छौं । पोखराको चापकोटमा रहेको विद्यालयलाई सहयोग गर्न पाउँदा हामी खुसी छौं । मिर्गौला पीडित सन्तोष सुनारको उपचारका लागि पनि यस समाजबाट सहयोग प्रदान गरिएको छ । यी सबै सहयोग सम्झँदा मन खुसी हुन्छ । मन प्रफुल्लित हुन्छ । हामीले गरेको एउटा यस्तो सहयोग छ, जुन सहयोगका कारण हामीले दिन दिनै आशिर्वाद प्राप्त गरेको अनुभव हुन्छ । थप सहयोगका लागि ऊर्जा प्रदान गर्छ । १९ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छौं । यसबाट आवश्यक पर्दा बिरामी बोक्नका लागि प्रयोग गरिने सवारीसाधन सञ्चालनका लागि खर्च गर्छौ । सुत्केरी बेथा लागेका, रूखबाट खसेका, सर्पले टोकेका बिरामीलाई पोखराको अस्पतालसम्म पु¥याई दिन्छ, त्यो सवारी साधनले । एम्बुलेन्स भन्दा यो व्यवस्था किफायती हुने रहेछ । दुरूपयोग पनि नहुने रहेछ ।
‘तपाईहरूले गर्नुभएको सहयोगले मेरो आमा, दिदी, बहिनी, आफन्तको ज्यान बच्यो, तपाईहरूलाई धन्यवाद’ भन्नु हुन्छ । त्यो सुन्दा मन खुसीले गद्गद् हुन्छ । सहयोग गर्न पाएकोमा जीवन सार्थक भएको अनुभव हुन्छ ।

वैज्ञानिक छ ओशो दर्शन 

म पहिले देखि नै अध्यात्मिक मान्छे  हुँ । ओशोका किताबहरू खुबै पढ्थेँ । । जीवन के हो भनेर बुझ्दै जाँदा ओशो दर्शनबाट प्रभावित भएँ । आँखा खोल्दा होइन, बन्द गर्दा संसार बुझ्न सकिन्छ । प्रत्येक वर्ष लण्डनमा ओशो क्याम्प हुने रहेछ । साथीहरूबाट यो थाहा पाएँ । त्यो क्याम्पमा सहभागी भएँ । त्यो क्याम्पले ओशो दर्शनबाट प्रभावित मलाई जीवन र जगतका बारेमा बुझ्न सहयोग ग¥यो । चार वर्षअघि मैले सन्यास लिएको हुँ । प्रत्येक दिन ध्यान गर्छु । आफूभित्रै सबै कुरा खोज्छु । एकदमै आनन्द आउँछ । सबै शक्ति मानिस भित्रै छ । आफूसित छ । बाहिर खोज्नु व्यर्थ छ । अरुले के भन्छ भनेर होइन, आफूलाई के ठीक लाग्छ भनेर काम गर्ने हो । गौतम बुद्धले घर परिवार, दरबार छाड्दा त्यतिखेर कति आलोचना भएको थियो होला  ? हामी सहजै कल्पना गर्न सक्छौं । उनी धेरै आलोचित भएका थिए । तर उनलाई त्यतिखेर त्यही ठीक लाग्यो र गरे । जसले उनलाई अजम्बरी बनायो । २५ सय वर्ष भइसक्दा पनि उनी अमर छन् । सबैको मन मनमा छन् । सम्मानित छन् । त्यसैले आफूलाई ठीक लागेको काम गर्नुपर्छ भनेको हुँ ।
ओशोले जीवनको हरेक पक्षलाई वैज्ञानिक रूपमा व्याख्या गर्नु भएको छ । मान्छेले ओशोलाई यौनसँग मात्रै जोडेर हेर्छन् । वास्तवमा ओशो दर्शन भनेको यौन मात्रै होइन, जीवनको समग्र पक्ष हो । प्रत्येक विषयमा सकारात्मक र नकारात्मक पक्षहरू ह्ुन्छन् । नकारात्मक पक्षलाई लियो भने, जीवन रित्तो अनुभव हुन्छ । उपलब्धि केही हुँदैन । त्यसैले सकारात्मक सोचौं । उन्नत जीवन बाँचौं । जगतको भलोको लागि काम गरौं ।
(गुरुड ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका प्रवक्ता समेत हुन्)

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797