संक्रमितमा मनोवैज्ञानिक समस्या रहेछ, औषधि खानै मान्नु भएन

सम्मानको श्रृंखला 
डा.सञ्जिव शर्मा
प्रमुख, इन्टर्नल मेडिसिन विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

 कोभिड संक्रमित भएर उपचारका लागि आउनु भएका ती बिरामीलाई सम्झन्छु, जसलाई सम्हाल्न हाम्रो टिमलाई निकै गाह्रो भएको थियो । उहाँहरूमा मनोवैज्ञानिक समस्या रहेछ । परामर्श नै आवश्यक प¥यो । कोभिड उपचार गर्ने टिममा साइक्र्याटिक विभागका साथीहरू पनि हुनुहुन्थ्यो ।  धेरै दिनको परामर्शपछि मात्रै उहाँहरूले औषधि खान सुरु गर्नुभयो । औषधि सुरु गरेको तेस्रो दिन स्वाब लियौं । स्वाब लिन पनि गाह्रो भयो । स्वाब लिएपछि उहाँहरूलाई क्वारेन्टिनमा पठायौं ।
अब अर्को केसको कुरा गर्छु, भुल्केबाट एक जना गर्भवती आउनु भयो । उहाँमा कोरोना भाइरस संक्रमणको लक्षणहरू थियो । गर्भवती अवस्थामा देखिने केही जटिलताहरू पनि थिए । गर्भको शिशु झिक्न हामीले शल्यक्रिया गरयौं । केही दिन अघि अस्पतालमा एउटा यस्तो केस आयो, जुन बिरामीमा कोरोना लक्षण देखिइसकेको थिएन । तर, बिरामी शिथिल हुनुहुन्थ्यो । सावधानी अपनाउँदै उहाँलाई आइसोलेसनमा राख्यौं । परीक्षणले उहाँलाई डायलासिस गर्नुपर्ने देखायो । पीपीइ लगाएर उहाँको डायलासिस गरायौं । त्यतिखेर हाम्रो टिम त्रासमा थियो । उहाँ पनि एकदमै पीडामा हुनुहुन्थ्यो ।
कोरोनाका बिरामीको मानसिक अवस्था विश्लेषण गर्छु । वास्तवमा  उहाँहरू मानसिक तनावमा हुनुहुन्छ । त्यो तनावले उहाँहरूलाई कमजोर बनाएको छ । रुघा, खोकी त्यो भन्दा केही जटिल लक्षण देखा परेपछि मलाई कोरोना भयो भन्ने शंकाले ल्याएको तनाव, दोस्रो, कोरोना पुष्टि भयो भने मलाई कसैले छुँदैन भन्ने चिन्ताले निम्ताएको तनाव र तेस्रो, परिवारसँग छुट्टिएर बस्नुपर्दाको एकांकीपनले उहाँहरूमा मानसिक समस्या देखा परेको छ । कोभिड उपचारमा खटिनु हुने चिकित्सक, नर्सले भाइरसको उपचार सँगसँगै उहाँहरूको मनोविज्ञानलाई समेत बुझेर काम गरिरहनु भएको छ ।

डाक्टर नर्सको पनि स्वाब परीक्षण 

सञ्चारमाध्यममा आउने समाचार, आफन्त, साथीभाइसँग हुने कुराकानी पनि कोरोनाबाट मृत्यु हुने कै तथ्यांकमा केन्द्रित हुन्छ । फेरि यो रोग नै नयाँ प्रकृतिको भयो, औषधि पत्ता नलागेको अवस्था छ । त्यसैले पनि होला, मनमा कता कता डर लाग्ने रहेछ । इटालीको एउटा अस्पतालमा जहाँ मैले १० वर्षअघि काम गरेको थिएँ, त्यहाँ मृत्यु भएकाको संख्या सुन्दा पनि मन आत्तिदो रहेछ । आत्तिएको मनलाई सकारात्मक समाचार सुनेर, नराम्रोभित्र पनि राम्रो खोजेर सम्हाल्ने प्रयास गरेको छु । सम्पूर्ण साथीहरूलाई त्रसित होइन, सतर्क रहौं भन्न चाहन्छु ।
सावधानी अपनाएर कोभिडको उपचारमा खटिने चिकित्सक, नर्सहरू एक साताको ड्युटीपछि अर्को एक साता क्वारेन्टिनमा बस्नु हुन्छ । पोजेटिभ बिरामीसँग पहिलोपटक भेट भएको मितिले पाँचौ दिनमा स्वाब परीक्षण गर्ने गरिएको छ । कोभिडको उपचारमा खटिएका चिकित्सक र नर्सहरू अस्पताल परिसरमै रहेका कटेजबाट अस्पताल आउँजाउँ गरिरहनु भएको छ । यो क्वारेन्टिन हो । म अहिले अस्पतालकै क्वाटरबाट अस्पताल आउँछु । संक्रमितको संख्या बढे कटेज क्वारेन्टिनमा बस्ने निधो गरेको छु ।


रयापिड रेस्पोन्स टिम 

म संलग्न अस्पतालले मुख्य गरी तीन क्षेत्रमा काम गर्छ । अध्ययन–अध्यापन, बिरामीको सेवा र अनुसन्धान । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको ध्यान बिरामीको सेवा र अध्ययन–अनुसन्धानमा केन्द्रित छ । कोभिडका बिरामीको उपचार गर्न रयापिड रेस्पोन्स टिम बनाएका छौं । यो टिम अन्तर्गत पनि अन्य टिमहरू बनेका छन् । जसले गर्दा काम गर्न सजिलो भएको छ । कोभिडका बिरामीको उपचार बनाइएको वार्डमा जान प्रवेशद्धार नै फरक छ । आइसोलेसनमा जानु पर्दा बिरामीले एम्बुलेन्स प्रयोग गर्नुपर्छ । बिरामीको स्वाब लिँदा अत्यन्तै सावधानी अपनाइन्छ । आइसोलेसन सेन्टरमा भेन्टिलेटरको सुविधा प्रयोग गर्न सकिने बेडहरू छन् । अहिले कोभिड अस्पताल पनि बनेको छ । अन्य रोगका बिरामी जो लामो समयदेखि यो अस्पतालमा उपचार गराइरहनु भएकाहरूका लागि डाक्टर इन्द्र लिम्बुको नेतृत्वमा काम गरिरहेका छौं । स्थानीय सरकार र सुरक्षा निकायको सहयोग लिएर एम्बुलेन्स प्रयोग गरी उहाँहरूको घरमै औषधि पु¥याउने व्यवस्था मिलाएका छौं । कहिले काहीं  उहाँहरूको रगत, पिसाब परीक्षणको पनि व्यवस्था मिलाउनुपर्छ  ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797