हाइटी जहाँ लकडाउन भएन

कोरोना संक्रमण फैलन नपाओस् भन्दै विश्वका धेरै  देशहरू  अझै लडकडाउनमा छन् । केही देशमा लकडाउन खुकुलो भएको छ ।  तर हाइटी एउटा त्यस्तो देश हो, जहाँ लडडाउन भएन । आन्तरिक उडानहरू निरन्तर भइरहेको छ । जनजीवन सामान्य अवस्थामै चलिरहेको छ । यहाँको जनताको दिनचर्या नियमित छ । सँगैको देश अमेरिकामा कोरोनाका कारण हजारांैले ज्यान गुमाएका छन् । लाखौं संक्रमित छन् । तर, यहाँ संक्रमित पाँच हजार मात्रै छन् । मृत्यु भएको छैन । संक्रमित पनि यहाँका स्थानीय होइनन्, विदेशबाट आएका पर्यटक हुन् । हाइटीमा जम्मा ५१ जना नेपाली छन् । नेपाली कोही पनि आजसम्म संक्रमित छैनौं । यहाँ भएका अधिकांश नेपाली गोर्खा स्क्यूरिटी अन्तर्गत राष्ट्रपतिको सुरक्षार्थ छन् भने रेष्टुराँको हेडकुक र आफ्नै व्यवसायमा छन् । दुईजना नेपालीले अहिले पाइलट कोर्स गरिरहेका छन् । हाइटीका बासिन्दाहरू ९९ प्रतिशत अफ्रिकन छन् । हाइटीमा अफ्रिकाबाट आएकाहरूको बसोबास छ ।
हाइटीका नागरिकमा कोरोना संक्रमण कम देखिनु र मृत्यु कसैको पनि नहुनुको मुख्य कारण उनीहरूका खानपिन हो नै हो । उनीहरू स्वास्थ्यप्रति अत्यन्तै सजग छन् । अर्गानिक फुड खान्छन् । उनीहरूको दिन हर्बल टी र बेसार चियाबाट सुरु हुन्छ । ४५ डिग्री तापक्रम हुँदा पनि फ्रिजमा राखेको पानी, खानेकुरा खाँदैनन् । चिसो पानी पिए, रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ भन्छन् उनीहरू । आफ्नो स्वास्थ्यप्रति एकदमै संवदेनशील छन् उनीहरू । बरु एक छाक मात्रै खान्छन्, सन्तुलित खाना खान्छन् । बासी खाना कहिल्यै खाँदैनन् । नेपालमा खाना बासी भए कुकुर वा अरु जनावरलाई दिइन्छ । तर, यहाँ बासी खाना जनावरलाई पनि दिइँदैन । बासी खानेकुरा जनावरलाई दिनु कानुन विपरीतको कार्य हो भन्छन् यहाँका बासिन्दा । हाइटी यस्तो ठाउँ हो, जहाँ नेपालको मुगु कर्णाली भन्दा पनि विकट ठाउँहरू छन् । हाइटीका कतिपय जनताले बस, ट्याक्सीसम्म पनि देखेका छैनन् । कुनै टापू यस्तो छ, जहाँ पुग्न तीन घण्टा डुंगा चढेर जानुपर्छ । कतिपय ठाउँ नेपालभन्दा कम विकसित छन् । सरकारले कोरोनाविरुद्ध सचेतना कार्यक्रम चलाए पनि कतिपय ठाउँका जनतालाई मास्क भनेको के हो, त्यो पनि थाहा छैन । त्यसको प्रयोग त बेग्लै कुरा भयो ।

पत्रकार बन्न परीक्षा र अध्ययन 

सञ्चार क्षेत्रसँग सम्बद्ध भएकाले अब यो क्षेत्रको बारेमा केही कुरा गरौं । हाइटी सरकारले सञ्चार माध्यमलाई धेरै आदर र  सम्मान गर्छ । यहाँ सञ्चार माध्यमलाई हेर्ने दृष्टिकोण नेपालको भन्दा फरक छ । सरकारले सञ्चार माध्यमहरूलाई सहयोग गर्छ  । सञ्चारकर्मी पनि सम्मानित छन् । सञ्चारमाध्यमलाई राज्यको चौथो अंगको रूपमा लिइन्छ यहाँ । यो क्षेत्रलाई बलियो शक्ति मानिन्छ ।
सरकारले नै सरकारको कमी कमजोरी औंल्याउन सञ्चार माध्यमलाई प्रेरित गर्छ । राम्रा कामको प्रशंसा मात्रै खोज्दैन । सञ्चार माध्यमले यर्थाथ विषयलाई बाहिर ल्याइदिँदा कमजोरी सुधार गर्न मद्दत मिल्ने यहाँको सरकारले ठान्छ । नेपालमा भने सरकारको गल्ती कमजोरी समाचारमा आए, त्यसको ढाकछोप र खण्डनका लागि सरकार नै अग्रसर हुन्छ । यहाँ सरकार र सञ्चार माध्यमको सम्बन्ध नङ र मासुको जस्तै छ ।
हाइटीमा पत्रकार हुन् पनि विभिन्न नियमहरू पालना गर्नुपर्छ । सम्बन्धित विषयको अध्ययन हुनुपर्छ । क्षमता देखाउनु पर्छ । सञ्चार माध्यमले लिने परीक्षा पास गर्नुपर्छ । नियम पालना नगरी सञ्चार माध्यमहरू सञ्चालन गरिएका छन् भने सरकारले नै बन्द गरिदन्छ । कुन विश्वविद्यालय पढेको हो, छापा, फोटो, विद्युतीय, अनलाइन कुन विषय पढेको हो त्यसका आधारमा सञ्चार माध्यमले परीक्षा लिन्छ । जुन विषय पढेको हो, त्यही विषयको मात्रै पत्रकारिता गर्न पाइन्छ । नेपालमा जस्तो बिना अध्ययन पत्रकारिता गर्न पाइँदैन । सञ्चार मन्त्रालयले लिने परीक्षामा अनिवार्य उत्तीर्ण हुनैपर्छ ।
हाइटीमा दशवटा जिल्ला छन् । यी सबै जिल्लामा गरी ७६ वटा एफएम छन् । २६ वटा टिभी छन् । दुईवटा राष्ट्रिय पत्रिका छन् । यी पत्रिका निजी क्षेत्रबाट प्रकाशित पत्रिका हुन् । स्थानीय पत्रिका छैनन् । नेपालमा गोरखापत्र जस्तो सरकारी पत्रिका यहाँ छैन । हाइटी टेलिभिजनका नाममा सरकारले टेलिभिजन सञ्चालन गरेको छ । क्षमता भए, यहाँ काम गर्न र काम पाउन गाह्रो छैन । नातावाद, कृपावादका कारण क्षमता नभएकाहरूले अवसर पाउने अवस्था हुँदैन ।
म अहिले हाइटीको राष्ट्रपतिको सञ्चार सल्लाहकार समितिको सदस्य छु । यसअघिका दुईजना राष्ट्रपतिसँग पनि उक्त समितिमा रहेर काम गर्ने अवसर पाएको थिएँ । यो समितिमा रहेर काम गर्दाको अनुभव बेग्लै छ । राष्ट्रपतिले सबैको कुरा सुन्नु हुन्छ । सबैको कुरा सुनेपछि कुनै पनि विषयमा यो मेरो निजी हो भन्दै निर्णय सुनाउनु हुन्छ । फेसबुक पेजमा एउटा फोटो हाल्न पनि १७ जनाको समितिसँग सल्लाह गरिन्छ । त्यसपछि मात्रै निर्णय गरिन्छ । यहाँ पदको मर्यादा गरिन्छ । क्षमताको सम्मान हुन्छ । नेपालमा पनि रेडियो–टेलिभिजनमा काम गरेकाले होला, व्यक्तिगत निर्णय गर्दा मसँग सल्लाह गर्नुहुन्छ । प्रत्यक्ष भेट हुन नसकेपछि फोन वा जुमबाट छलफल हुन्छ ।

हाइटीसम्मको यात्रा 

१६ वर्ष अघि नेपालमा हुँदा शान्तिराज पौडेल सञ्चार कर्ममा आवद्ध थिए । सञ्चारक्षेत्रमा लागेको उनको लत सात समुद्र पारी पुग्दा पनि छुट्न सकेन । रेडियोमा काम गर्दै गर्दा उनी विभिन्न गैरसरकारी संस्थाको सम्पर्कमा थिए । ती गैरसरकारी संस्था मार्फत् हाइटी आएका हुन् उनी । हाइटी आउनु अघि झण्डै चार वर्ष उनी संयुक्त राष्ट्र संघमा भाषा अनुवादकको रूपमा कार्यरत थिए । हाइटी आएपछि उनी सञ्चार क्षेत्रको लगानीकर्ता भए । उनको लगानीमा हाइटीमा एक रेडियो र टेलिभिजन सञ्चालित छन् । १३ वर्षको उमेरदेखि लेख्न सुरु गरेका शान्तिको लगाव सञ्चार क्षेत्रमा छ । उनी अहिले हाइटीका राष्ट्रपतिको सञ्चार सल्लाहकार समितिका सदस्य समेत छन् । धेरै व्यवसायमा हात हालेका उनीको लगानीमा एयरलाइन्स समेत सञ्चालित छ । हाइटी पुगेपछि चारवटा भाषामा उनले पुस्तक लेखे । ती पुस्तकमध्ये एउटा पुस्तक हाइटीको सरकारी विद्यालयको सामाजिक शिक्षा विषयको रूपमा पढाइ हुन्छ । हाइटीका राष्ट्रपतिबाट उनले त्यहाँको प्रसिद्ध ‘लाइफ टाइम’ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797