हामी स्वास्थ्यकर्मी कोरोनासँग लड्ने ‘सिपाही’

डा. राजन पाण्डे  मेडिकल विभाग प्रमुख, भेरी अस्पताल 

कोरोना संक्रमित बिरामी डिस्चार्ज हुने दिन थियोे त्यो । शायद, पहिलो कोरोना बिरामी निको भएर डिस्चार्ज हुँदै हुनुन्थ्यो । अरू धेरैजना उपचारमा नै हुनुहुन्थ्यो । बिरामी निको भएर डिस्चार्ज भएपछि अन्य बिरामीले भन्नुभयो, ‘ए, यो त निको हुने रोग रहेछ, हामी पनि एक दिन निको भएर जान्छौं, धैर्य गरेर अस्पतालमा बस्नुपर्ने रहेछ ।’ निको भएर डिस्चार्ज हुने बिरामी अर्को बिरामीको लागि ऊर्जाको स्रोत हुनेरहेछ । निको हुने बिरामी त नजिरको रूपमा स्थापित भएको अनुभव गरेँ । उहाँहरूमा उत्पन्न भएको सकारात्मक भावनाले उपचार गर्न सजिलो भयो । सकारात्मक भावनाले आत्मबल बढाउँछ, त्यो आत्मबलले कोरोनासँग लड्न मद्दत गर्छ ।

 

भेरी अस्पतालबाट १० किलोमिटर दूरीमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखेर बिरामीको उपचार भइरहेको छ । भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिनु भएको छ । त्यहाँको व्यवस्थापन भेरी अस्पतालले नै सम्हालिरहेको छ । भेरी अस्पतालमा अन्य रोगका बिरामीहरूको उपचार पहिलेकै अवस्थामा भइरहेकाले छुट्टै उपचारको व्यवस्था मिलाएका हौं । 

 

कोरानो र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नु हुँदैन भनेर यस्तो गरिएको हो । यो वास्तवमा एकदमै ठीक रहेछ । यसो गर्दा एकातिर नियमित सेवाले निरन्तरता पनि पाउने भयो । अर्को जनमानसमा त्रास पनि भएन ।

 

बालकदेखि साठी वर्षमाथिका ज्येष्ठ नागरिकको हामीले उपचार ग¥यौं । पहिलो कोरोना संक्रमित बिरामी उपचार गर्न आउँदा मन डराएको थियो । आत्तिएका भने थिएनौं । बिरामीको सहयोगले त्यो डर विस्तारै हट्दै गयो । अहिले त अन्य रोगका बिरामी र कोरोना बिरामी उस्तै जस्तो लाग्छ । तर, हामी आफ्नो सुरक्षाप्रति सचेत छौं ।

 

कोरोनाका बिरामी, जो हाम्रो अस्पतालामा उपचारका लागि आएका थिए, उनीहरू पहिलो केस थिएनन् । चार पाँच महिना अघि नै छिमेकी मुलुकमा देखिएको कोरोनासँग लड्न हामीले आफूले सक्ने जति पूर्वतयारी गरेका थियौं ।

 

लकडाउन सुरु हुुनुभन्दा अघि नै अस्पतालका चिकित्सक, नर्स, प्रयोगशालाका स्वास्थ्यकर्मी, सफाइकर्मी सबैलाई ‘इन्फेक्सन प्रिभेन्टिभ ट्रेनिङ दिएका थियौं । उक्त तामिमा  पीपीई लगाउने, मास्क लगाउने तरिका सिकाइएको थियो । अस्पतालको भुइँ, बिरामीको कोठा सफा गर्ने तरिकाबारे पनि तालिममा भनिएको थियो । अस्पताल भनेको समूहले काम गर्ने संस्था हो । एक जनाले मात्रै राम्रो र सुरक्षित तरिकाले काम गरेर हुँदैन । एक जनाले मात्रै सानो गल्ती ग¥यो भने ठूलो दुर्घटना हुने संभावना हुन्छ । तालिममा सबैलाई सहभागी गराउनुको उद्देश्य त्यो थियो । अन्तर्राष्ट्रिय अनुभवहरूबाट पनि कोरोनाबाट बच्न सिक्न सजिलो भयो । तराईसँग जाडिएको जिल्ला भएकाले हामी बढी जोखिममा छौं भन्ने थियो ।

 

‘संक्रमित बिरामीहरूले अस्पतालमा आउने बित्तिकै मलाई यहाँ  किन ल्याएको, मलाई के भएको छ र, म घर जान्छु’ भन्नु भएको थियो । हामीले उहाँको मनोविज्ञान बुझेर काम ग¥यौं । कोरोना संक्रमण, यसको प्रकृति र लक्षणका बारेमा बुझायौं । उहाँहरूले बुझ्नु भयो । स्वास्थ्यसँग सम्बन्धी नियमहरू पालना गर्नुभयो । सबैभन्दा पहिला उपचारका लागि आउनेहरू मुस्लिम समुदायका हुनुहुन्थ्यो । ‘हामीमा मात्रै किन यो संक्रमण’ भन्ने भाव पनि उहाँहरूमा थियो ।

 

बिस्तारै अरूमा पनि संक्रमण देखिएपछि उहाँहरूले त्यसलाई सामान्य रूपमा लिनुभयो । हामी मात्रै संक्रमित भएको होइन रहेछ भन्नुभयो । केही संक्रमितले, हाम्रो अस्पतालमा गरेको परीक्षणको रिपोर्ट पत्याउनु भएन । विश्वास गर्नु भएन । ‘हामीलाई पोजेटिभ देखिनु नपर्ने हो’ भन्नु हुन्थ्यो । सुरूमा त बिरामी रिपोर्ट विश्वास गर्नु भएन । उहाँहरूको चित्त बुझाउने स्याम्पल परीक्षणका लागि काठमाडौं पठायौं । काठमाडौं र यहाँको परीक्षण रिपोर्ट एउटै आएपछि उहाँहरू निश्चिन्त हुनुभयो । हामीलाई पनि काम गर्न सजिलो भयो ।

 

बिरामीको उपचार गर्नु हाम्रो कतव्र्य र दायित्व हो । हामी आफ्नो पेशागत दायित्वबाट विचल्लित हुँदैनौ  । यसो भनिरहँदा, के चाहिँ भन्नै पर्ने हुन्छ भने हामी कोरानोसँगको युद्धको सिपाही हौं । विश्वभर फैलिएको कोरोना अघोषित विश्व युद्ध जस्तै हो । पहिलो र दोस्रो विश्व युद्धमा बन्दुक बोकेका सिपाही लडेका थिए । अहिले हामी ‘सिपाही’ जस्तै भएर लडेका छौं कोरोनासँग । तर, यस्तो विषम परिस्थितिमा काम गर्दा कुनै क्षेत्रबाट सपोर्ट पाएका छैनौं । अहिले हाम्रो लागि धन्यवादका दुई शब्द पनि निकै महत्वपूर्ण हुन्छन् । ‘तपाईहरूले राम्रो काम गरिरहनु भएको छ, धन्यवाद’ मात्रै भनिदिँदा हामी उत्साहित हुन्छौं । ऊर्जा मिल्छ । तर, त्यस्तो धन्यवादका दुई शब्द अहिलेसम्म सुनिएको छैन । यसमा दुःख लागेको छ ।

 

बिरामीको उपचार र व्यवस्थापनमा खट्नु पर्दा व्यस्तता चुलिएको छ । घर जाने, परिवारसँग भेट्ने टुंगो हँुदैन । कोरोना अघि दिन भर गर्ने कामको बिहान खाका बनाउन सकिन्थ्यो । तर अहिले त्यस्तो छैन । कुन बेला कहाँ पुग्नुपर्छ र कस्तो निर्णय गर्नुपर्छ थाहा हुँदैन । तर, पनि आइ परेका जस्तोसुकै अप्ठ्यारो पनि समाधान गरेका छौं । यसमा मलगायत मेरो टिमलाई गर्व छ ।  म प्रमुख कन्सलटेन्ट फिजिसिजन पनि हुँ भेरी अस्पतालको । जिल्लामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको प्रवक्ता समेत हुँ ।

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797