६ वर्षकी छोरीको प्रश्न, ‘मामु कोरोना कहिले सकिन्छ ?’

सम्मानको श्रृंखला 

                     सीमा शर्मा 
नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल 

कोरोना भाइरस संक्रमित बिरामी पहिलो पटक अस्पताल आएको दिन झल्झली सम्झिरहेकी छु  । त्यतिबेला हामी सबैजना त्रसित थियौं । बिरामीको उपचार कसरी गर्ने होला ? बिरामीको व्यवहार कस्तो होला जस्तो लागेको थियो । अहिले यो विषयमा हामी सामान्य बन्दै गएका छौं ।
हाम्रो अस्पतालमा उपचारपछि निको भएर चारजना कोरोना पोजेटिभ देखिएका बिरामी डिस्चार्ज भइसक्नु भएको छ । एकजना उपचारमा नै हुनुहुन्छ ।
कोभिडका सबै बिरामीले रोगको प्रकृति बुझिदिएकाले हामीलाई काम गर्न सजिलो भयो । आइसोलेसनमा बसेका बिरामीले ‘हामी बस्छौं, केही परे फोन गर्छौ, आउनु पर्दैन सिस्टर’ भन्नु हुन्थ्यो । आइसोलेसन वार्डको मूल ढोकासँगै एउटा सानो झ्याल बनाएका छौं । त्यो झ्यालमा औषधि राखिदिन्छौं । हामी फर्किरएर आएपछि मात्रै औषधि लिन आउनुहुन्छ । सीसी क्यामेरामा यो दृश्य देख्दा निकै खुसी लाग्यो ।
उहाँहरू हाम्रो स्वास्थ्यप्रति संवेदनशील हुनुहुन्छ । ड्युटीमा खटिने नर्सले बिरामीलाई बरोबर फोन गर्छौ । समस्या पर्ने बित्तिकै फोन गर्न भनेका छौं । एक्लै बस्दा ‘मोनोटोनस’ नहोस् भनेर भिडियो कल पनि गरेका थियौं । बिरामीको सहयोग र परिवारका सदस्यको सहयोग–प्रोत्साहनले काम गर्न आत्मबल बढेको छ । श्रीमान् आत्मबल बढाउने कुरा गर्नुहुन्छ । ‘बिस्तारै कम हुँदै गएको छ, अब कम हुन्छ तर डराउनु हुँदैन’, उहाँले यसो भन्दा खुसी लाग्छ । बलियो भएको अनुभव हुन्छ । सकारात्मक समाचार र निको भएका बिरामी आत्मबल बढाउने विषय हुन् । कोरोनाले मृत्यु भएको भन्दा निको भएकाको संख्या सम्झन्छु । त्रसित हुनु हुँदैन । सर्तक बन्नुपर्छ । सावधानी अपनाएर काम गर्दा कोरोनालाई जित्न सकिन्छ । बिरामीको स्वाब लिदाँदेखि उहाँहरूको डस्टबिन फोहोर बिर्सनसम्म निकै महत्वपूर्ण हुन्छ । बिरामीको उपचार हाम्रो कर्तव्य हो । धेरै दिन क्वारेन्टिनमा बसेर अस्पताल आउजाउ गरें । अहिले घरबाटै अफिस जान्छु । ६ वर्षकी छोरी छिन् । उनी अहिले मामाघरमा बस्छिन् । अस्पताल आउने जाने समय टुंगो हँुदैन । बिहानै आउनुपर्छ । राति अबेरसम्म काम हुन्छ । त्यसैले उनी मामाघरमा बस्छिन् । म क्वारेन्टिनमा बस्दा त उनीसँग एक महिना जति भेट भएन । अहिले भेट्न जान्छु । टाढैबाट कुरा गर्छु । ‘मामु कोरोना कहिले सकिन्छ ?’ भनेर प्रश्न गर्छिन् । ‘मामु म हजुर हग गर्ने ?’ भन्दा मनमा नरमाइलो लाग्छ । तर, पनि मन सम्हाल्छु । छोरीलाई तत्काल समय दिन नसके पनि कोभिड पोजेटिभको उपचारमा खटिएको सन्तोष मान्छु । सानै भए पनि कुरा बुझेको देखेर खुसी लाग्छ । मातृत्व एउटा विषय हो । पेशागत कर्तव्य र जिम्मेवारी अर्को पक्ष हो ।

# Seema Sharma # Covid-19 # Nepal’s corona virus # Health Ministry # सीमा शर्मा # नर्सिङ अधिकृत # सेती प्रादेशिक अस्पताल # कोरोना भाइरस # कोभिड १९ # कोरोना पोजेटिभ # आइसोलेसन वार्ड

प्रतिक्रिया दिनुहोस् :-

सम्पर्ककाे लागि


शब्दघर प्रा.ली.
सुनाकाेठी, ललितपुर


sabdhaghar@gmail.com
www.shabdakoghar.com


+9779841401448
+9779841289797